Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

काठमाडौँ, २० माघ २०८१ । डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाको छिमेकीहरूसँग द्वन्द्व सुरु भएको छ । जवाफमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

ट्रुडोले नयाँ भन्सार मंगलबारदेखि ३० अर्ब डलरको अमेरिकी वाइन र फलफूल आयातमा लागु हुने बताएका छन् । यस्तै, १२५ अर्ब डलरको आयात पछि प्रभावित हुनेछ । मंगलबारदेखि क्यानडाबाट हुने आयातमा पनि अमेरिकी भन्सार शुल्क लागु हुँदै छ ।

यसअघि, ट्रम्पले फेब्रुअरी १ ​​देखि क्यानडा र मेक्सिकोमा २५ प्रतिशत र चीनमा १० प्रतिशत अतिरिक्त कर लगाएका थिए ।

मेक्सिकोको पनि जवाफी कारबाही

उता मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले पनि अर्थमन्त्रीलाई प्रतिशोधात्मक कर लगाउन निर्देशन दिएकी छन् । उनले मेक्सिको आपराधिक संगठनहरूसँग जोडिएको भन्ने ट्रम्पको आरोपलाई पनि अस्वीकार गरेकी छन् ।

यसअघि, गत शुक्रबार ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले ट्रम्पले शनिबारदेखि क्यानडा र मेक्सिकोबाट आयातमा २५ प्रतिशत र चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने बताएकी थिइन् । यी देशबाट अमेरिकामा लागुऔषध भित्रिरहेको र लाखौँ अमेरिकीले ज्यान गुमाइरहेकाले कर लगाउनुपरेको तर्क गरेकी थिइन् ।

मेक्सिकोकी राष्ट्रपतिले अमेरिकी आरोपको खण्डन गर्दै आफूहरूले पछिल्लो चार महिनामा ४० टनभन्दा बढी लागुऔषध जफत गरेको बतायन् । यस्तै, १० हजारभन्दा बढी अपराधीलाई पक्राउ गरेको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया