Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

झापा, २० माघ २०८१ । च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । वित्तीय चेतनाका लागि केन्द्रीय बैङ्कले जारी गरेको सूचना अनुसार आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई साट्न सकिने भएको हो ।

यस्ता नोट राष्ट्र बैङ्कको मुद्रण व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोटकोष सञ्चालन गर्ने वाणिज्य बैङ्क (राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क) बाट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । तर धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जान सक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना अर्थात् सटही नगरिने राष्ट्र बैङ्कले जनाएको छ । त्यस्ता नोट जफत गरिने र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ । त्यस्ता झुत्रो बैङ्क नोट नोट साट्न नसकिने र जफत पनि हुन सक्ने बैङ्कले उल्लेख गरेको छ ।

“नोटहरू धेरै मक्किएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नका लागि झुत्रो नोटको पछाडिको भागमा सोही दरको सिङ्गो नोट बराबरको कागजको टुक्रामा टाँसी साट्न सकिन्छ”, राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । साथै नोटलाई चाँडै झुत्रो हुनबाट बचाउन जतन गरी प्रयोग गर्न केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया