Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

एजेन्सी, ८ कार्तिक २०८१ । भारतको पूर्वी तटमा कम्तिमा दश लाखभन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थलतर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन्।

चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ।

मौसम ब्यूरोले हावाको गति १२० किलोमिटर प्रतिघन्टाको गतीमा पुग्ने अनुमान गरेको छ। चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द हुने जनाइएको छ।

शुक्रबार बिहान धामरा बन्दरगाह नजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाईसमेत असर गर्ने अनुमान गरिएको छ।

चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटरमाथि बढ्ने पूर्वानुमान गरिएको छ।

ओडिसा राज्यका स्वास्थ्य मन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब दस लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताएका छन्।

छिमेकी पश्चिम बङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। उनले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाएका छन्।

कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा र वर्षा का कारण बिहीबार राति उडानहरू स्थगित गरिने बताएका छन्।

भुवनेश्वर सहरको विमानस्थलले पनि उक्त समयमा उडानहरु बन्द गर्ने जनाएको छ भने कैयौँ रेलसेवाहरु स्थगित गरिएका छन्।

बङ्गलादेशका विपद् मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारीहरू “उच्च सतर्कता“ का साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताएका छन्।

वैज्ञानिकहरूका अनुसार जीवाश्म ईन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन्।

तपाईको प्रतिक्रिया