Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

एजेन्सी, १३ असोज २०८१ । अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ। आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ। उद्धारकर्ताले शनिबार विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन्।

चौथो श्रेणीको आँधीको रूपमा बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो।

अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना र टेनेसी गरी ६ वटा राज्यमा सङ्घीय आपतकालीन अवस्था घोषणा गरिएको छ र उद्धारका लागि सङ्घीय आपतकालीन व्यवस्थापन प्रशासन फेमा का ८०० भन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ।

हाल ‘उत्तर–उष्णकटिबन्धीय चक्रवात’ को रूपमा वर्गीकृत गरिएको आँधी ओहायो उपत्यका र मध्य एपलाचियनलाई आइतबारसम्म रहने अपेक्षा गरिएको नेशनल शुरिकेन सेन्टरले जनाएको छ।

आँधीजन्य विपत्का कारण दक्षिण क्यारोलिनामा कम्तिमा २४, जर्जियामा १७, फ्लोरिडामा ११, उत्तरी क्यारोलिनामा १० र भर्जिनियामा एक जनाको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएको छ।

मौसम पूर्वानुमानसम्बन्धी राष्ट्रिय निकायले ‘विगत दुई दिनदेखि आएको विनाशकारी बाढीपछि आज स्थितिमा सुधार हुने जानकारी गराएको छ। तर बिजुली कटौती लामो समयसम्म हुनसक्ने चेतावनी दिएको छ।

आँधीको प्रभावले दक्षिणपूर्वी फ्लोरिडादेखि मिडवेस्ट इन्डियानासम्म १० राज्यमा २६ लाख मानिसहरू विद्युत्को अभावमा अध्यारोमा बसिरहेका छन्।

तपाईको प्रतिक्रिया