एजेन्सी, १३ असोज २०८१ । भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशको पूर्वी क्षेत्रमा हरेक वर्षझैँ यस वर्ष पनि जितिया पर्व मनाइँदै थियो।
सन्तानलाई दीर्घायुको आशीर्वाद प्राप्त हुने मान्यतासहित अभिभावक विशेषगरी महिला जितिया व्रत बस्छन्। हरेक वर्षजस्तो जितियाले यसवर्ष बिहारका कैयौँ परिवारलाई प्रसन्नता दिएन, उल्टो जीवनभरिका लागि पीडा थमाएर गयो।
गत बुधवार जितिया पर्व मनाउने क्रममा ती क्षेत्रका विभिन्न ठाउँमा डुबेर ३७ बालबालिकाको मृत्यु भयो। बिहार सरकारले जितिया पर्वमा स्नान गर्ने क्रममा प्रदेशभरि डुबेर ४६ जनाको मृत्यु भएको र तीमध्ये ३७ जना बालबालिका, ७ जना महिला र २ जना पुरुष रहेका जनाएको थियो।
मृत्यु हुनेमा बालिकाको संख्या १० जना रहेको छ। औरंगाबादमा सबैभन्दा धेरै ९ जना बालिकाको डुबेर ज्यान गयो।
एकैदिन यति धेरै बालबालिकाको मृत्युसँगै सरकारले यस्ता घटना रोक्न के गरिरहेको छ भन्ने प्रश्न उठेको छ। विपद् व्यवस्थापन र लघु जल संसाधनमन्त्री सन्तोष सुमनले यस प्रकारका घटना रोक्न बिहार सरकारका तर्फबाट नागरिकहरूमा सचेतना फैलाइएको बताएको बीबीसीले जनाएको छ।
वर्षा र बाढीको समयमा नदी, पोखरी वा तलाउमा साना बालबालिकालाई नुहाउन नदिन भनिएको थियो र सरकारी स्तरमा निर्माणाधीन पोखरीमा यससबन्धी बोर्ड लगाउने व्यवस्था रहेको उनले बताए।
बिहार सरकारको विपद् व्यवस्थापन विभागले बाढीको समयमा नदी, पोखरी वा तलाउमा जल स्तर बढ्ने भएकाले यसबाट बच्न अखबारहरूमा सूचना प्रकाशित गर्ने गरिएको बताएको छ।
नागरिकहरूले पनि विपद्को सामना गर्न विभागले जारी गरेको गाइडलाइन पालना गर्नुपर्ने थियो। तर बालबालिका वा ठूला नागरिकले पनि सरकारी निर्देशनको पालना नगरेका कारण यस्ता घटना हुने गरेको सत्ताधारी जेडीयूका प्रवक्ता निरज कुमार बताउँछन्।
घटनापछि मुख्यमन्त्री नीतिसकुमारले शोक व्यक्त गर्दै मृतकका परिवारलाई ४/४ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्।






