शिव मुखिया

काठमाडौं, १५ पुस । कुलमान घिसिङ नायक कि राजेश हमाल ? धुर्मुस–सुन्तलीलाई हिरो मान्ने कि अनमोल केसीलाई ?

यी सवालमा सर्वसम्मत जवाफको अपेक्षा गर्न नसकिएला । तर, हाम्रो राष्ट्रिय परिदृश्यले भने यस्तो बहस उब्जाइसकेको छ ।

यो बहस अहिले किन पनि आलो छ भने नेपाली सिनेमाबाट नायकहरु गायब हुँदैछन् । एकातिर नेपाली सिनेमाबाट नायकहरुको अवसान हुँदैछ । र, अर्को्तिर समाजमा नायकहरुको पदार्पण हुँदैछ ।

समाजको घाउमा मल्हम लगाउने र अप्ठ्याराहरुलाई सल्टाइदिने ‘अफस्क्रिन’ अर्थात् पर्दाबाहिरका नायकहरु परिदृश्यमा छाउँदैछन् । अन्यायविरुद्ध आगो ओकल्ने, निसहायलाई निसाफ दिने, गुण्डा ग्याङलाई तह लगाउने, शोषक–भष्ट्रहरुको पत्तासाफ गर्ने ‘अनस्क्रिन’ अर्थात् पर्दा्भित्रका नायकहरु भने धमाधम अलप हुँदैछन् ।

नेपाली सिनेमाको पर्दामा फणीन्द्रप्रसाद, पशुपतिप्रसाद, गोपी, हाकु काले, काजी, टलकजंगहरुको बोलवाला बढ्दो छ । वास्तवमा यी नायक होइनन्, चरित्र हुन् । यस्तै चरित्र बोक्ने निश्चल बस्नेत, दयाहाङ राई, विपिन कार्कीहरु नायक होइनन्, अभिनेता हुन् । र, अहिले उनीहरु चलायमान छन् ।

चरित्र र नायकबीच तात्विक भिन्नता छ । चरित्रले समाजका पात्रहरुमा आफूलाई रुपान्तरण गर्छ । नायकले समाजलाई आफ्नो अनुकरण गर्न आग्रह गर्छ ।

सिनेमाले स्थापित गर्ने समाजको रोल मोडल हो, नायक । बलिष्ठ, निर्भिक, जुझारु, न्यायप्रेमी, सुकुमार, रसिक तत्वहरु घुलनशील भएर नायक निर्माण हुन्छ ।

पर्दाबाट नायक अलप भएपछि‘

जतिबेला राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, राजवल्लभ कोइरालाहरुको नायकत्व भुत्ते हुँदै थियो, ठीक त्यही विन्दुमा दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, विपिन कार्की चम्किलो बनेर उदाउँदै थिए । रंगमञ्चबाट आएका यी अभिनेताहरुले पर्दामा नायकत्व देखाउने भन्दा पनि चरित्रलाई घतलाग्दो ढंगबाट पेश गर्न थाले ।

यसपछि नै हो, सुकिला–मुकिला भएर, चिल्लो कारमा सयर गरेर, ठूला महलमा बसेर, समाजसँग दुरी बढाएर ‘स्टारडम’ पाइन्छ भन्ने भ्रम तोडिएको । किनभने, खस्रा–फुस्रा दयाहाङहरुले दर्शककै समाजमा घुलमिल भएर चरित्र खोज्न थाले ।

कहिले असनका साहुसँग अंकमाल गर्दै, कहिले बैतडीका बड्डासँग हलगोरु जोत्दै समाजका नजिक पुगे । समाजका रामे, धने, विर्खेहरुको हुलिया, लवज, दुख टिपे । आफूलाई समाजका चरित्रहरुमा समाहित गरे । र, त्यही समाजका रामे, धने, बिर्खेहरुको हुलिया, प्रवृत्ति, लवज टपक्कै टिपे । रैथाने चरित्र निर्माण गरे र त्यसमा आफूलाई रुपान्तरण गरे । हाकु काले, भष्मे डन, टलकजंग, फणीन्द्रप्रसाद यसरी रुपान्तरित चरित्र बन्न पुगे ।

यससँगै ‘दुश्मनका लागि यो हात फलाम’ भन्दै गर्जने एकादेशका नायकहरु दृश्यपटलबाट ओझेलमा परे ।

नायकको खोजी

‘समाजलाई नायक चाहिन्छ । समाज आफ्नो परिधिभन्दा बाहिरको नायकलाई अबीर लगाइदिन चाहन्छ । अंकमाल गर्न चाहन्छ । नायक हुर्काउन चाहन्छ’ फिल्म निर्देशक मनोज पण्डितले एक लेखमा भनेका छन् ।

फिल्म निर्देशक पण्डितले ‘नायक खोजिरहेछ देश’ शीर्षकमा लेखेका छन्, वर्तमान समय अत्यन्त ठूलो अवसर हो नायक जन्मन र हरेक नेपालीलाई पीडाबाट मुक्त गर्न ।

नेपाली सिनेमाले अहिले नायकको उपस्थिति खोज्दैन, तर समाजले खोजिरहेछ । राजनीतिक बद्मासीदेखि सामाजिक विचलनसम्मका प्रहारबाट मुक्ति पाउन नेपाली समाजले नायकको खाँचो महसुस गरिरहेको छ ।

नेपाली सिनेमाले अहिले नायकको उपस्थिति खोज्दैन । तर, समाजले नायक खोजिरहेछ । सामाजिक विचलन, विशृंखलता, विभेद र वैराग्यबाट उन्मुक्ति पाउनका लागि पनि नायकको खाँचो छ ।

गोरे सुनकान्डदेखि निर्मला पन्तको हत्याकाण्डसम्म, नेता–मन्त्रीको भोगविलासदेखि वैदेशिक रोजगारीको विरक्तलाग्दो लस्करसम्मले समाजको धरातल जसरी क्षयीकरण भइरहेको छ, त्यसलाई रोकथाम गर्न पनि यहाँ नायकको उपस्थिति जरुरी छ ।

हिजो कुलमान घिसिङको उदय नभएको भए, आज ‘लोडसेडिङको तालिका’ हेर्दै सुस्केरा हाल्नुपर्ने दिनको पटाक्षेप हुने थिएन । हिजो धुर्मुस–सुन्तलीको पदार्पण नभएको भए, आज मुसहर वस्तीले छानो पाउने थिएन ।

यी दृष्टान्त हुन्, पर्दाबाहिरका नायकको ।

समाज जब जटिल मोडमा पुग्छ, जब विपतले थिलथिलो बनाउँछ, तब समाजले नायकको खोजी गर्छ । विनासकारी भूकम्पमा ज्यानलाई दाउमा राखेर उद्धारमा जुटेका सिपाही हुन् वा भारतको अघोषित नाकाबन्दीका बेला अलपत्र बटुवालाई बाइकमा लिफ्ट दिने तन्नेरी । समाजले खोजेका नायक हुन् ।

यस्तो बेला ‘नायक’ बन्ने लहड पनि सुरु हुन सक्छ । लहडले होडको रुप लिन्छ र होडबाजीले विकृति ल्याउँदोरहेछ । कोही बाल सह–चालकलाई ‘उद्वार’ गरेर नायक बन्न उद्दत्त हुन्छन् त कोही राहतका नाममा दुई कार्टुन चाउचाउ बोकेर सेल्फी खिच्न दौडन्छन् ।

मनोविज्ञ विजय ज्ञवाली ‘नायकत्व’ देखाउने यस्तो लहडले एक किसिमको घातक मनोवृत्ति बन्न सक्ने बताउँछन् । भूकम्पपछि कतिपय व्यक्ति र संस्थाले गलत फाइदा उठाएको संकेत गर्दै उनले भने, ‘जब नायकत्वको आडमा गलत फाइदा उठाउने चेष्टा गरिन्छ, यस्तो कृत्यले समाजलाई लाभान्तिव होइन, निराश बनाउँछ ।’

नायक बन्नका लागि त्याग, समर्पण, बलिदान चाहिन्छ । नायकमा करुणा हुन्छ, प्रेम हुन्छ, विनम्रता हुन्छ, सहास हुन्छ । नायकले चुपचाप अन्याय सहँदैन । नायकले टुलुटुलु भ्रष्टाचार हेर्दैन ।

नायक निर्माण

के सिनेमाको नायकले समाजलाई डोर्‍याउन, मार्गदर्शन गर्न सक्छ ? हाम्रो समाजका लागि यो प्रश्न अनुत्तरित छ ।

समाज र सिनेमा फरक कुरा हुन् । तर, सिनेमा समाजबाट निर्दे्शित हुन्छ । यसर्थ समाज र सिनेमाले दोहोरो अन्तरक्रिया गर्न सक्छ । सिनेमाको नायकले समाजलाई घच्घच्याउन सक्छ । सिनेमाले उभ्याउने नायक समाजका लागि मानक बन्न सक्छ ।

यो कुरालाई किन पनि स्वाभाविक मान्न सकिन्छ भने, दर्शकले सिनेमा हेरिरहँदा आफूलाई नायकको स्थानमा उभ्याउँछ । त्यही कारण त नायकले भोग्ने पीडामा उनीहरु दुःखी हुन्छन् । नायकले प्राप्त गर्ने सफलतामा उनीहरु रोमाञ्चक हुन्छन् ।

दर्शकको यही मनोविज्ञानलाई स्वीकार गर्दै नायकको निर्माण गर्न सकिन्छ ।

नायक कस्तो हुनुपर्छ त ? नायकको निर्माण कसरी हुन्छ ?

निर्देशक तथा समीक्षक नवीन सुब्वाका अनुसार हाम्रो नायक बलिउडले बनाएको खाकाअनुरुप छ । र, बलिउडले हिन्दु धार्मिक शस्त्रहरुको पात्रबाट नायकको मानक तयार गरेको छ । अझ प्रष्टसँग भन्नुपर्दा, हाम्रा पौराणिक शास्त्रहरुले जसरी पुरुषार्थीको वर्णन गर्छन्, ठीक नायक त्यही गुणहरुले युक्त भएर जन्मन्छन् ।

जस्तो कि, सहासी, पराक्रमी, सचेत, विद्वत, बलिष्ठ, विनयी, दयालु ।

दृष्टान्तका रुपमा हिन्दी चलचित्र ‘पद्यावत’का राजा रतनसिंहलाई लिन सकिन्छ । सञ्जय लीला भन्सालीले उनको चरित्र निर्माण यसरी गरिदिएको छ कि, जो सहासी, सर्तक, निश्छल, क्षमावन् छन् । यस्तै सत्गुणहरुको मिश्रणबाट नायकको निर्माण हुन्छ । र, समाजले हमेसा यस्तै नायकको खोजी गर्छ ।

यद्यपी पर्दामा जसरी नायकत्व प्रदर्शन गरिन्छ, त्यसलाई समाजसँग जोड्न सकियो भने बढी अर्थपूर्ण हुन्छ । पर्दाका नायकहरु पर्दा बाहिर खलनायक भएर निस्किरहेको वर्तमान सन्दर्भमा त यो कुरा अझ महत्वपूर्ण छ । पर्दामा नायकत्व देखाउनेहरु समाजमा कहिले मानव तस्कर त कहिले नक्कली पैसा छाप्ने कृत्यमा उक्सिएका छन् ।

‘भारतमा अमिताभ बच्चन वा रजनीकान्तका फ्यानहरूले आफ्ना नायकको मन्दिर नै बनाउँछन्,’ सुब्बा भन्छन्, ‘नेपाली सिने नायकहरूले त्यो शक्ति निर्माण गर्न सकेनन् ।’

यो शक्ति आर्जन गर्न नायकको पर्दाको छविलाई पर्दाबाहिरको समाजसँग जोड्न सक्नुपर्छ ।

निर्देशक तथा समीक्षक सुब्बाको भनाइ मननयोग्य छ ।
अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया

Comments