Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

एजेन्सी, १५ भदौ २०८१ । ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’माथि प्रतिबन्ध लगाइएको छ । ट्विटरका रूपमा परिचित एक्समाथि ब्राजिलको सर्वोच्च अदालतले प्रतिबन्धको फैसला गरेको हो।

एक्सले ब्राजिलका लागि आफ्नो कानूनी प्रतिनिधिको नाम दिन नसकेपछि प्रतिबन्ध लगाइएको हो। न्यायाधीश अलेक्जेण्डर डी मोरेसले एक्समाथि तत्काल र पूर्ण प्रतिबन्धको आदेश दिएका छन् ।

गत अप्रिलमा एक्सले गलत सूचना प्रवाह गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । यो मुद्दामा सुनुवाई गर्दै अदालतले दर्जनौँ एक्स अकाउन्ट बन्द गराउन आदेश दिएको थियो । तर अदालतको उक्त आदेशपछि एक्सका मालिक एलन मस्कले राजनीतिक नियुक्ति खाएका छद्म न्यायाधीशहरुले स्वार्थका आधारमा एक्स अकाउन्ट निलम्बन गर्ने आदेश दिएको आरोप लगाए।

त्यसपछि अदालतले एक्सलााई कानूनी प्रतिनिधि तोकेर बहस गर्न चुनौती दिएको थियो । तर एक्सले प्रतिनिधि दिएन । पछिल्लो आदेशपछि अबको पाँच दिनपछि ब्राजिलमा कुनै पनि तरिकाबाट एक्स चलाउन नमिल्ने हुनेछ ।

अदालतले ब्राजिलभित्र एप्पलको एप स्टोर तथा गुगल प्लेस्टोरबाट समेत एप्लीकेशन हटाउन सम्बन्धित कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तै कसैले भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरेर चलाएको पाइएमा ५० हजार डलर जरिवाना गर्न आदेश गरेको छ ।

अदालतले यो प्रतिबन्ध एक्सले ब्राजिलमा कानूनी प्रतिनिधिको नियुक्ति र यसअघिको जरिवाना नभरुन्जेलसम्म जारी रहने घोषणा गरेको छ ।

 

तपाईको प्रतिक्रिया