दमक, १२ भदौ २०८१ । आमा छोरीलाई ठक्कर दिई फरार भएका सिटी सफारी चालक दमक-९ बस्ने ५५ वर्षीय फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ ।
गत असार १४ गते दिउँसो १ः४५ बजे दमक नगरपालिका-१ बरगाछीस्थित भित्री सडक खण्डमा लिम्बूले चलाएको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल यात्री काठमाडौँ दक्षिणकाली-१ घर भई हाल दमक-१ बस्ने शर्मिला नेम्बाङ र उनकी छोरी वर्ष २ की आरोशी मगरलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेहरूलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा घाइतेमध्ये आरोशीको सोही दिन मृत्यु भएको थियो ।
घटनापश्चात् फरार रहेका तेह्रथुम थोक्लाङ घर भई हाल दमक-९ बस्ने लिम्बूलाई खोजतलास गर्नेक्रममा हिजो साँझ ६ बजे दमक-८ गणतन्त्र चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






