Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

चितवन, १३ पुस । ‘बाउलाई लग्यो अल्सरले, छोरो पल्सरले’ भन्ने सडक साहित्य सडकमा गुड्ने सवारी साधनहरुमा कतै कतै लेखेको देख्न पाइन्छ । यसले अल्सर र पल्सर दुबै जोखिमपूर्ण हुन् भन्ने झल्काउँछ ।

चितवनमा पछिल्लो पाँच महिनाको अवधिमा भएका सवारी दुर्घटनामा मोटरसाइकलको यात्रा निकै जोखिमपूर्ण बन्दै गएको देखिएको छ । पाँच महिनाको विवरण हेर्दा मोटरसाइकल वा मोटरसाइकलकै कारणबाट ज्यान गुमाएकाहरू सबैभन्दा धेरै छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार साउनयता मंसिरसम्म भएका १३५ सवारी दुर्घटनामध्ये ९९ वटा मोटरसाइकल दुर्घटना भएका छन् । ती दुर्घटना मोटरसाइकल चालक र पछाडि बस्ने गरी २८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कुल मृत्यु ७४ जना छ । मोटरसाइकलै कारण ठक्करबाट पाँच पैदलयात्री र तीन साइकलयात्रीको मृत्यु भएको छ । योसहित जोड्दा मोटरसाइकलको कारणबाट भएको मृत्यु ३६ पुग्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश १७ देखि ३५ बर्षसम्मका युवाहरु छन् ।

ठूला सवारी साधान दुर्घटनामा ज्यान गुमाउनेको संख्या निकै कम छ । पछिल्लो पाँच महिनामा ट्रक ट्यांकर दुर्घटनामा चारजना, जिप कार दुर्घटनामा तीनजना, साइकलयात्री पाँचजना र पैदलयात्री १७ जनाको मृत्यु भएको छ । पैदलयात्री पनि सडकमा जोखिममा रहेको यसले देखाउँछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार अधिक गतिमा कुदाउने, मादकपर्दाथ सेवन गरी चलाउने, लाइसेन्स नभएका व्यक्तिले चलाउने र जथाभावी ओभरटेक गर्न खोज्ने कारणले मोटरसाइकल दुर्घटना बढेका हुन् ।

मोटरसाइकल दुर्घटना रातिको समयमा बढी दुर्घटना हुने गरेको देखिएको छ । पछिल्लो समयमा मोटरसाइकलको संख्या अधीक हुन थालेको छ । साइकलको सहर भनिने चितवनमा हिजोआज साइकल हराउँदै जान थालेका छन् ।

चितवनमा एउटै घरमा दुईदेखि ४ वटासम्म मोटरसाइकल हुन थालेका छन् । ट्राफिक प्रहरीले विभिन्न सामाजिक संघसंस्थासँग मिलेर सचेतनाका कार्यक्रम चलाए पनि त्यति प्रभावकारी बन्न सकेको छैन । विद्यालय शिक्षामा नै ट्राफिक चेतनासम्वन्धी जानकारी समेट्नुपर्ने आवाज पनि उठ्दै आएका छन् ।

तपाईको प्रतिक्रिया