Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

३२ साउन २०८१ । अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ। ‘अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ। गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो। हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ।

एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कूल संख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ। सोही अवधिमा बेरोजगारको संख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ। यो संख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ।

यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसंख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ। सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

उच्च सहभागिता दर र उच्च रोजगारी–देखि–जनसंख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको संख्या धेरै भएको जनाउँछ।

तपाईको प्रतिक्रिया