Online Bichar
सोमबार, भाद्र २४, २०८१ | Monday, September 9, 2024

ढाका, २५ साउन २०८१ । बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र हसिनालाई हटाउन आन्दोलनको नेतृत्व गर्ने विद्यार्थी नेतृत्वबीच मतभेद देखिएको छ। बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान र विद्यार्थी नेतृत्व आमचुनावलाई लिएर विवादमा छन्। आफू जेलमा परेपछि बीएनपी अध्यक्ष बेगम खालिदा जियाले छोरा रहमानलाई कार्यवाहक अध्यक्ष बनाएकी थिइन्।

रहमान भने शेख हसिनाको दल अवामी लिगले चुनाव बहिष्कार गर्ने भएकाले जनताको आन्दोलनको भावना सदुपयोग गरी आफ्नो दललाई विजयी बनाउन चाहन्छन्। चुनाव ढिलो भयो भने यस्तो समर्थन कम हुन सक्ने बीएनपीका नेताहरूको अनुमान छ। त्यसैले उनीहरू बंगलादेशमा तत्काल चुनाव गराउन चाहन्छन्।

आन्दोलनको नेतृत्व गरेका विद्यार्थीहरू भने योभन्दा फरक विचार प्रस्तुत गर्न थालेका छन्। विद्यार्थी आन्दोलनका संयोजक नाहिद इस्लाम‚ छात्र नेता आसिफ महमुद र अबुबकर मजुमदार भने आफ्नो कुनै राजनीतिक दल नभएकाले दल खोली त्यसलाई विस्तार गर्न चाहन्छन्। त्यसका लागि समय लाग्ने भएकाले ढिलो चुनाव गर्नुपर्ने पक्षमा छन्। नाहिद इस्लाम र आसिफ महमुद त अन्तरिम सरकारमा सहभागी भएका छन्।

विद्यार्थीसँग अहिले कुनै राजनीतिक संरचना नभएकाले चुनाव लड्नुअघि पार्टी खोल्ने समय आवश्यक छ। अन्यथा यतिखेर देखिएको देशव्यापी प्रभाव खुम्चिने र केही समयमै बाहिरिने आशंका देख्छन्।

शेख हसिनाले राजीनामा दिएर ढाकाबाट भारत भागेको दुई दिनपछि बुधबार नै रहमानले एक भिडियो सन्देशमार्फत तत्काल चुनाव गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताएका छन्। ढाकामा आयोजित र्‍यालीमा बोल्दै उनले यस्तो बताएका हुन्।

बंगलादेशमा पहिलेदेखि नै तानाशाहका रूपमा चिनिएको सेनाले भने यतिखेर आफ्नो छवि सुधार्ने मौका पाएको छ।

विद्यार्थी नेताहरूले आफू सेना समर्थित सरकार वा राष्ट्रपति शासन वा कुनै दलको पक्षमा नभएको स्पष्ट पारेका थिए। त्यसलगत्तै सेना‚ बीएनपी लगायतका दल सेना‚ राष्ट्रपति र बीएनपी दलभन्दा बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सहमत भएका थिए।

रहमानले भने, ‘देशको वर्तमान उपलब्धिलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ। हामीले सबैको सुरक्षा सुनिश्चित गर्न धर्म, जात र पहिचानको भेदभाव नगरी जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ।’

 

तपाईको प्रतिक्रिया