काठ्माडौं, २३ साउन २०८१ । बेलायतमा प्रदर्शन हिसात्मक बनेपछि नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाली दूतावासले बेलायतका विभिन्न शहरमा रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको हो ।
बेलायतस्थित नेपाली दुताबासले एक विज्ञप्ती जारी गर्दै बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न पनि आग्रह गरेको छ ।
वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको र यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ विज्ञप्तीमा भनिएको छ ।
साथै, बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ । आपत्कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
बेलायतको एक नृत्यशालामा भएको छुरा प्रहारमा ३ बालबालिकाको मृत्यु प्रकरणबाट चर्केको प्रदर्शनमा सबै समदायको स्वार्थ बाझिँदा स्थिति नियन्त्रण बाहिर गएको छ ।