Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

२१ साउन २०८१ । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन्।

प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएकी हुन्। उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएकी छन्।

“प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ। अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने। कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन्।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो।

आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया