काठमाडौंं, १३ असार २०८१ । बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजी वृद्धिका लागि बाटो खुलेको छ। नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन–क्यूमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्नसक्ने व्यवस्था लागु गरेसँगै प्राथमिक पुँजी वृद्धि गर्न बाटो खोलेको हो।
यो संस्थागत लगानीकर्ताहरूका लागि मात्रै हो। यद्यपी यस व्यवस्थाले बैंकहरूको व्यवसाय बढाउन सजिलो बनाएको बैंकरहरू बताउँछन्। सो व्यवस्थाले बैंकहरूलाई वैकल्पिक पुँजीको आधार सृजना गर्ने भएको छ।
केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एकीकृत निर्देशन, २०८० थप्दै यो व्यवस्था थपेको हो। केन्द्रीय बैंकले इ.प्रा. निर्देशन नं. १६÷०८० मा बुँदा नं ७ थप गरी क्रमसंख्या मिलान गरेको छ। हाल यो व्यवस्था थिएन।
स्थायी प्राथमिकता शेयर जारी गर्ने प्रावधान थपेकोमा नबिल बैंकका ढेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक सञ्चालमा भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय वृद्धिमा बाधा परेको पुँजी टियर १ पुँजीलाई समर्थन गर्न यो व्यवस्थाले सहज बनाउछ।’ तर उक्त सेयर खरिद व्यक्तिका लागि हुँदैन।
अब बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताको आधारमा तोकिएको शर्तहरूको अधिनमा रही अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिन सक्नेछन्। तर अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन।
उक्त निर्देशनअनुसार यो संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ। ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ। साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ। अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकारसम्बन्धीत इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थालेविवरणपत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ। साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ,’ जारी निर्देशनमा उल्लेख छ। यो सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन।






