Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पोखरा, ६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच शुक्रबार भेटवार्ता भएको छ ।

१५ दिने भ्रमणका क्रममा पोखरा बसेका पूर्वराजा शाहलाई पार्टी कार्यक्रमको सिलसिलामा पोखरा आएका थापाले शुक्रबार विहान भेटेका हुन् । पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष थापा पोखरा १७ दोबिल्लास्थित माउण्ट ग्लोरीमा पुगेका थिए ।

उनीहरुबीच करिब सवा एक घण्टा कुराकानी भएको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले जानकारी दिए । शाह र थापाबीच विहान ९ बजेदेखि सवा १० बजेसम्म कुराकानी भएको थियो ।

भेटमा पूर्व राजा शाहले देशको बिग्रदो अवस्थाप्रति चासो राख्दै चिन्ता व्यक्त गरेको मिडिया नेपालका अध्यक्ष पौडेलले जानकारी दिए । साथै देशका अन्य समसामयिक विषयमा पनि चासो राखेको उनले बताए ।

उनका अनुसार भेटमा राप्रपा अध्यक्ष थापाले राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीलगायतको माग राख्दै फागुन ७ गतेदेखि जनसंघर्ष गर्न लागेको जानकारी गराएका थिए । उनले पार्टी एकीकरणमा देखिएको समस्या र हुनसक्ने सम्भवानाबारे पनि जानकारी गराएको पौडेलले बताए ।

पूर्वराजा शाह र राप्रपा अध्यक्षबीच शुक्रबार भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह पुस २ गते १६ दिनका लागि पोखरा आएका हुन् भने राप्रपा अध्यक्ष थापा बिहीबार पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन आएका हुन् ।

तपाईको प्रतिक्रिया