काठमाडौँ, ३० वैशाख २०८१ । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु आयात घटेको नेपाल राष्ट्रबैंकले जनाएको छ। आर्थिक वर्ष २०८०-८१ को नौ महिना (साउन–चैत) को अवधिमा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ११ अर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो। भारत र अन्य मुलुकबाट भएको आयात घट्दा चीनबाट आयात बढेको छ। भारतबाट भएको आयात ३.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २२.६ प्रतिशतले घट्दा चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको राष्ट्रबैंकले जनाएको छ। वस्तुगत आधारमा सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोसाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ।
समीक्षा अवधिमा कुल वस्तु निर्यात ३.७ प्रतिशतले घटेर १ खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैचा, चिया, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ। निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको हो। आयाततर्फ सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
व्यापार घाटा १० खर्ब ५३ अर्ब नाघ्यो
आर्थिक वर्ष २०८०-८१ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले कमी आई १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ।
भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ११ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब १ अर्ब ६७ करोड बराबरको भएको थियो।