Online Bichar
बुधबार, जेठ ०९, २०८१ | Wednesday, May 22, 2024

झापा, १८ वैशाख २०८१ । झापाको पूर्वी नाका मेचीनगरबाट भन्सार छलेर भित्राइएको ठुलो मात्रामा लत्ताकपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापा, जिल्ला प्रहरी कार्यालय र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा ५१ पोका कपडा बरामद गरेको हो ।

संयुक्त टोलीले मेचीनगर–७ गैरीगाउँ र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट मंगलबार बिहान ७ बजेको समय करिब ३८ लाख ४८ हजार ४७० रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डीएसपी तथा प्रवक्ता दिनेश कुटवालले जानकारी दिए ।

गैरीगाउँ र सालघारीमा ठुलो मात्रा भन्सार छलेर कपडा भित्राइएको सूचना पाए लगतै सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म काँकडभिट्टाको टोली सोमबार राती साढे ९ बजेदेखि सो क्षेत्रमा खटिएका थिए ।
सशस्त्रले गैरीगाउँबाट २२ पोका र सालघारीबाट २९ पोका कपडा बरामद गरेको हो । सीमा क्षेत्र, मकैवारि र एउटा घरबाट सो परिमाणका कपडा फेला परेको थियो । ‘सशस्त्रले दुवै स्थानमा रातभरि सामानको सुरक्षा दिएर बसेको थियो,’ डीएसपी कटुवालले भने, ‘आज बिहान प्रहरी र भन्सारसँगको सहकार्यमा सामान बरामद गरेका थियौँ ।’

बरामद गरिएकोमा सामानमा कुर्ती, कुर्ता सुरुवाल, भेष्ट, पेन्टी, पाइन्ट, म्याक्सी, सटको थान कपडा, लुंगी, तन्ना, सुती साडी, गन्जी, ब्लाउज, पेटिकोट लगायतको रहेको छ । तस्करले मौका छोपी कपडा भित्राएको हुनुपर्छ । कसको सामान भनी नाम खुलेको छैन । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मंगलबार नै मेची भन्सार कार्यालय बुझाइसकेको डीएसपी कटुवालले बताए ।टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया