काठमाडौँ, ७ जेठ २०८१ । चावहिलको सरस्वतीनगरस्थित रिलायन्स कलेजले चौथो राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
विगत चार वर्षदेखि संचालन हुँदै आएको यस प्रतियोगितामा २०८० सालको एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको कलेजका प्रिन्सिपल रविन्द्रजंग थापाले जानकारी दिए । प्रतियोगितामा विद्यार्थीहरुले “विकासको आधार : सिप, प्रविधि र पूर्वाधार” शीर्षकमा ३०० शब्द नबढाई नेपाली वा अंग्रेजी भाषा मध्ये एकमा आफ्नो निबन्ध पठाउन सक्नेछन् । निबन्ध पठाउने इमेल ठेगाना [email protected] रहेको छ ।
यस्तै निबन्ध कलेजमा पुगेर पनि बुझाउन सकिनेसमेत प्रिन्सिपल थापाले बताए । प्रतियोगितामा सहभागी मध्ये १३ उत्कृष्ट विद्यार्थीलाई नगद, छात्रवृत्ति, प्रमाण पत्र र अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले जानकारी दिए । देशैभरिबाट संकलन हुने निबन्ध मध्ये प्रथम हुने एकजनालाई रु. १५००० नगद, कक्षा ११ को भर्नामा १००% छुट, १२ महिनाकै मासिक किस्ता छुट गरिने छ ।
द्वितीय हुने एकजनालाई नगद रु.१०००० कक्षा ११ को भर्नामा १००% छुट, ९ महिनाको मासिक किस्ता छुट गरिने छ ।
तृतीय हुने एक जनालाई कक्षा ११ को भर्नामा १००% छुट, ६ महिनाको मासिक किस्ता छुट गरिने छ । साथै सान्त्वना हुने १० जनालाई कक्षा ११ को भर्नामा ५०% छुट, २ महिनाको मासिक किस्ता छुट गरिने छ । त्यसका अलावा १३ जनालाई नै प्रमाण पत्र तथा अन्य पुरस्कारहरुबाट सम्मान गरिनेसमेत शैक्षिक निर्देशक मेहताले जानकारी दिए । प्रतियोगितामा भाग लिन चाहनेले जेठ ७ गतेदेखि असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस्तै नतिजा प्रकाशन असार २० गते कलेजको आधिकारिक फेसबुक पेजमार्फत गरिने छ ।