Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

झापा, १३ वैशाख २०८१ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार गरी स्वदेश फर्काएको छ । स्वदेश फर्किएका उनीहरूलाई सामीले औषधी उपचार सहायता प्रदान गरेको छ ।

पहिलो घटना: वैदेशिक रोजगारीका लागि रोमानिया गएको भद्रपुर-८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश तिम्सिना उद्धार गरिएको छ । २०८० कार्तिक ३० गते करिब राती १० बजेको समयमा विकाशलाई ६–७ जना नेपाली युवाहरूले बाटोमा छेकेर टाउकोमा बोतल प्रहार निर्घात रुपमा कुटपिट गरेका थिए ।

कुटपिटबाट अचेत (कोमा) गएका उनको रोमानियाको टिमिसोराआ हस्पिटलमा उपचार भएको थियो । उपचारपछि उनलाई भद्रपुर नगरपालिकाको पहलमा उद्धार गरी स्वदेश फर्काइएको छ ।

दोस्रो घटना: भद्रपुर– ८ फूलबारी टोल निवासी अकबर अन्सारीलाई खाडी मुलुक दुबईबाट उद्धार गरी ल्याइएको छ । आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका काठमाडौँ धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट म्यानपावरबाट गत असोज २८ गते दुबई जेबेलअली पुगेका थिए । १ लाख ७५ हजार रुपैयाँ खर्च गरेर दुबई पुगेका

उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) ११२० दिरहम (करिब ४० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने सर्त पठाएको थियो । तर, दुबई जेबेलअली पुगेपछि उनको काम फरक प¥यो । त्यहाँ उनलाई भवन निर्माणको काम अर्थात् बेल्चा हान्न लगायो । लेबरको काम गर्दा उनी ९ दिनमै बिरामी परे कोठामै बन्दी भए । उनलाई भद्रपुर नगरपालिकाको पहलमा उद्धार गरी ल्याएको छ । हाल उनी भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेको छ ।

भद्रपुर नगरपालिकाको पहलमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका चार जनाको परिवारलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता उपलब्ध गराएको सामीका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले जानकारी गराए । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा अधिकृत बुढाथोकीले नगर क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका १५ जनालाई आर्थिक सहायता र १५ जनालाई छात्रवृत्ति प्रदान गरिएको बताए । त्यस्तै भद्रपुरका ११८ जनालाई वित्तीय साक्षरता र २७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको उनको भनाई छ ।

त्यस्तै आप्रवासी स्रोत केन्द्र झापामा वैदेशिक रोजगारी समस्याबाट पीडित भएका १३ महिलासहित ११७ जनाले उजुरी दिएका छन् । चालु आर्थिक वर्षको हालसम्म परेको उजुरीमध्ये ९५ वटा मुद्दा अझै प्रक्रियामा रहेको छ । २२ वटा मुद्दा समाधान गरी ४५ लाख ९० हजार रकम असुलउपर गर्न सफल भएको उनले बताए ।

उनका अनुसार म्यानपावरबाट ठगिएका, पासपोर्ट खोसिएका, विदेशमा पुगेर मेडिकल फेल भएका, फरक कामको प्रकृतिका काम लगाइएका व्यक्तिहरूले आप्रवासी स्रोत केन्द्रमा उजुरी दिएको बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७९र०८०मा १३० मुद्दा दर्ता भई ४० वटा मुद्दा मात्र फर्छ्यौट भएको थियो ।

सामी कार्यक्रम जिल्लाको चार पालिकाहरू भद्रपुर, मेचीनगर, गौरीगञ्ज र दमकमा सञ्चालन भइरहेको सामी हेल्भेटास कार्यक्रम अधिकृत रोहित विश्वकर्माले जानकारी दिए । भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा पत्रकारहरूले आआफ्नो राय सुझावसँगै जिज्ञासा राखेका थिए ।

 

 

तपाईको प्रतिक्रिया