Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

सिन्धुली, १३ वैशाख २०८१ । आफैले लगाएको आगो निभाउने क्रममा जलेर सिन्धुलीमा एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाइ नगरपालिका-१ खारखोला निवासी ८६ वर्षीया कृष्णमाया पौडेल रहेको प्रहरीले जनाएको छ।

पौडेलको बिहीबार बिहान करिब साढे एघार बजेतिर आगलागीमा जलेर मृत्यु भएको हो । वडाध्यक्ष नरेश कुमार गोलेका अनुसार घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारीमा सुकेका झारपात,पतिंगर जलाउनका लागि आफैले बालेको आगो शरीरमा सल्किएको थियो । आगलागीबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो।

आगो अन्यत्र जाने त्रासले वृद्धा आफै निभाउन जाँदा डिलबाट चिप्लिएर आगोमा खसेको अध्यक्ष गोलेको भनाइ छ। वृद्धा घरबाट हराएको भनि परिवारले खोजतलास गर्ने क्रममा जलेको अवस्थामा फेला परेकी थिइन् । पौडेलका दुई छोरा छन्। घटनास्थलमा अहिले प्रहरी पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका प्रवक्ता अनिल खड्काले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया