Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

बिर्तामोड, ४ वैशाख २०८१ । बिर्तामोड बसपार्कका होटलहरु लागूऔषधको अखडा बन्दै गएका छन् । होटलहरुमा बेश्यावृत्तिसंगै लागूऔषधको प्रयोग र कारोबार हुने गरेको विभिन्न घटनाहरुले देखाएको छ ।

यसक्रममा ठूलो मात्रामा लागूऔषधसहित बिर्तामोड बसपार्कका एक होटल कामदार पक्राउ परेका छन् । हिजो दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं।११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो । Tramaco–50 mg ३७५० ट्याब्लेट, Spasan लेखिएको ३,७४३ ट्याब्लेट, PREGSTAR–75 लेखिएको २७७ ट्याब्लेट, GABIX–75 लेखिएको ३०० ट्याब्लेट, VOMINE–25 लेखिएको १२८ ट्याब्लेट, ANTIKOF लेखिएको ११३ ट्याब्लेट , नेपाली नगद रु.४,६३५ र एक थान कैची बरामद भएको थियो ।

ती प्रतिबन्धित औषधीसहित मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ वर्षीय सगुन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि पनि बिर्तामोड बसपार्कका होटलबाट लागूऔषधसहित धेरैजना पक्राउ परिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया