Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

ताइवान, २१ चैत २०८० । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

अमेरिकी भौगर्भिक अध्ययन निकाय युएसजीएसले ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको जनाएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन् ।

बुधबारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन् । भूकम्पले निम्त्याएका क्षतिको विवरण आउन बाँकी छ ।

जापानको दक्षिण–पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ । फिलिपिन्सको भूकम्प मापन निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ ।

चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प जाँदा २४ जनाको ज्यान गएको थियो ।

 

तपाईको प्रतिक्रिया