Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

इलाम, २० चैत २०८० । आगामी वैशाख १५ गते हुने इलाम-२ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

चैत २२ गते इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछिमात्र इलाम–२ को मतदाता नामावली टुङ्ग्याइने जनाइएको छ । निर्वाचन कार्यतालिका अनुसार चैत २४ गते उम्मेदवारी मनोनयन हुनेछ । उप–निर्वाचनका निर्वाचन आयोगमा लागि २० वटा दल दर्ता छन् ।

यता निर्वाचन नजिकिँदै गर्दा निर्वाचनका लागि आवश्यक सामग्री केन्द्रबाट चैत २३ सम्ममा आइपुग्ने जिल्लास्थित निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिनुभयो । बाँकी सामग्री खरिदको प्रक्रिया पनि अघि बढाइएको लिम्बूले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि खटिने कर्मचारीहरूको नामावली सङ्कलन गरिसकेको जनाइएको छ । इलाम(२ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन् । यी मतदान केन्द्रहरूमा खटिने आठ सय ९४ जना कर्मचारीको विवरण सङ्कलन भएको सूचना अधिकारी लिम्बूले बताउनुभयो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यक्रम छ । यस्तै, चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया