Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १६ चैत २०८० । नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम बहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध भएका छन् । बिहीबारबाट बिर्तामोडमा शुरु भएको अधिवेशनको बन्द सत्रबाट संविधानसभा सदस्य समेत रहेका गिरी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ ।

नेकपा एमाले झापाका जिल्ला स्तरीय एक नेताले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीको अध्यक्षतामा नेतृत्व चयन गर्न निर्देशन दिएसँगै पाँच जनाको अध्यक्ष सहित पाँच जना निर्विरोध भएका हुन् । उनका अनुसार उपाध्यक्ष असारु राजवंशी , सचिव तुलसी कार्की, उप सचिव खगेन्द्र नेपाल र उप सचिव अनिता कन्दङ्वा निर्विरोध भएका हुन् ।

अध्यक्षका लागि शिव ढुङ्गेलले दाबी गरेपनि ओलीको निर्देशनमा नेतृत्व चयन भएको बताइएको छ । यद्यपि निर्वाचन समितिले उनीहरूको नाम आधिकारिक रुपमा घोषणा भने गरेको छैन । बाँकी पदमा भने छलफल भइरहेको बताइएको छ ।
बिहीबारबाट शुरु भएको अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ । गिरी एमाले अध्यक्ष ओलीका निकट मानिएकाले पनि उनलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिएको बताइएको छ ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी भएको जिल्ला कमिटीले जनाएको छ ।अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष गिरीले राजनीतिक प्रतिवेदन र सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया