Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

रकफोर्ड, अमेरिका, १५ चैत २०८० । संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले उक्त घटनामा शङ्कास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताउनुभएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । कार्लाका अनुसार राति १ बजेतिर घटनास्थलबाट सहयोगका लागि प्रहरीमा खबर आएको थियो ।

प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चौथो व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा १५ वर्षीया एक किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय व्यक्ति र २२ वर्षीय युवा छन् । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

कार्लाका अनुसार घटनाका बारेमा विस्तृत विवरण प्राप्त गर्न पीडितका घर आसपास राखिएका सिसिटिभी क्यामेरा दुरुस्त राख्न अनुरोध गरिएको छ । रकफोर्डको जनसङ्ख्या करिब एकलाख ५० हजार रहेको र यो स्थान सिकागो शहरबाट करिब १४५ किलोमिटर टाढा छ । रकफोर्डस्थित वाल्मार्ट सपिङ मलमा कार्यरत एक युवाको वाल्मार्टभित्रै बुधबार हत्या भएपछि यस्तो घटना भएको प्रहरीको भनाइ छ । रासस

 

तपाईको प्रतिक्रिया