काठमाडौं, २८ माघ २०८० । एसीसी वुमन्स प्रिमियर कपको दोस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ। मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा भएको खेलमा भुटानलाई ८ विकेटले हराउँदै नेपाल विजयी भएको हो।
नेपालले ११.५ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ३२ रन र रुविना क्षेत्रीले १७ रनको योगदान गर्दै अविजित रहिन्। इन्दू बर्माले १ रन र कविता कुँवरले ५ रन बनाएर आउट भएकी थिइन्।
निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै भुटानले ६५ रन बनाएको थियो। नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्। नेपालका लागि कविता कुँवर, कविता जोशी, इन्दु वर्मा र सीता रानामगरले एकरएक विकेट लिएकी थिइन्।
नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन्। नेपालले शनिबार हङकङलाई पराजित गरेको थियो।
जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन्। चार समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन्। सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन्।