काठमाडौं, २४ माघ २०८० । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.०३ अंकले बढेर ३७७.९५ विन्दुमा पुगेको छ।
साताको पहिलो कारोबार दिन आइतबार एकल अंकले घटेको नेप्से सोमबार,मंगलबार र बुधबार निरन्तर बढेको हो। सोमबार १४ ,मंगलबार ९ अंकले बढेको नेप्से आज करिब ५ अंकले वृद्धि भएको हो।
नेप्से मंगलबारको तुलनामा कम अंकले बढेपनि कारोबार रकम भने बढेको छ। यसदिन ३१३ स्टकको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँमा खरिदबिक्री भए।मंगलबार २ अर्ब ५९ करोड मूल्य बराबरको कारोबार भएको थियो।
सेयर बजार सामान्य अंकले बढेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुँरास लघुवित्त वित्तीय,समाज लघुवित्त वित्तीय,बुद्ध भूमि नेपाल हाइड्रोपावर,इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख मूल्य कारोबार हुँदा नगदी ग्रुपको ६ करोड ५९ लाख,हाथवेको ६ करोड ११ लाख र सोनापुरको ५ करोड ८६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
१३ वटा उपसमूहमध्ये ८ वटाको सूचक बढ्दा ५ उपसमूहको सूचक नकारात्मक देखिए। कारोबारमा आएका १६९ कम्पनीको मूल्य बढ्दा ६९ वटाको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।






