Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दमक, ४ माघ २०८० । झापाको हल्दीबारी गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराएको छ । गाउँसभाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै गाउँपालिका भित्र बसोबास गर्ने आम नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो ।

खानेपानीको १० हजार लिटरसम्म जनताले निःशुल्क पानी उपयोग गरेबापत खानेपानी उपभोक्ता समितिलाई पालिकाले आवश्यक सहयोग गर्ने जनाइएको छ । पानी निःशुल्क उपलब्ध गराए बापत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कर्मचारीहरूको मासिक तलब र विद्युत महसुल गाउँपालिकाले तिर्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

गोलधाप खानेपानी सरसफाइ उपभोक्ता समितिसँग द्विपक्षीय सम्झौता गरी कार्यान्वयन समेत भइसकेको उहाँले बताउनुभयो । जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्तासँग शुल्क उठाउन थालेपछि यस विषयमा स्थानीय सरकारको ध्यानाकर्षण भएको पनि लिङ्देनको भनाइ छ ।

स्थानीय सरकारसँग गरेको प्रतिबद्धता विपरीत १० हजार लिटर समेतको महसुल सङ्कलन गरिरहेको भनी आम उपभोक्ताहरूबाट जनगुनासाहरू आएकाले यस विषयमा आफूहरूको ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ । उपभोक्ताहरूबाट रकम असुल गरेमा कारबाही गरिने जनाइएको छ ।

तत्कालै कार्यपालिकाको बैठक बसेर नगर सभाको निर्णय विपरीत जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई निर्णयको हुने गरी त्यसो कार्य नगर्न नगराउन निर्देशन दिई सकिएको पनि गाउँपालिका अध्यक्ष लिङ्देनले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

तपाईको प्रतिक्रिया