Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २ माघ २०८० । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ देखि १२ गतेसम्मका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको थियो। माघ ११ गते राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि निर्वाचन हुँदैछ।

आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ र निर्वाचन आचारसंहिता,२०७९ को दफा १ को उपदफा (२) अनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको हो।

आचार संहिता लागू भइसकेपछि प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस,आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत,भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन,निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन पाइने छैन।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न पाइदैन। यसैगरी कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने,मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ ।

केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मष्तिष्क मन्थन आदि गर्न पाइदैन।

यसैगरी मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टा अर्थात २०८० माघ ८ गते रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल,अन्तरक्रिया,सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने,मतदान हुने दिनको अंठचालिस घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने, कुनै पनि विधि,प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न मिल्दैन।

सामाजिक सञ्जाल,अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश,प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन नमिल्ने आचार संहितामा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया