Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २९ पुस २०८० । १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी नीता गुरुङ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छन्।गत डिसेम्बर ७ देखि १० तारिखसम्म दक्षिण कोरियाको मुजुमा वर्ल्ड तेक्वान्दोले सञ्चालन गरेको १२६औं ग्योरोगी रेफ्री सेमिनार कोर्स नीताले उतीर्ण गरेकी हुन्।

विभिन्न राष्ट्रका प्रशिक्षार्थी सहभागी सेमिनार नेपालबाट नीतासँगै १३औं सागकी स्वर्ण विजेता काजल श्रेष्ठले पनि उतीर्ण गरेकी छन्। घरेलु प्रतियोगितामा रेफ्री गर्न थालेको करिब दुई वर्षपछि नीताले अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गरेकी हुन्।

सन् २००८ बाट तेक्वान्दो खेल्न थालेकी सुनसरीको धरानकी नीताले १३औं सागसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्। १३औं सागमा २३ वर्षमाथिको महिला टिम पुम्सेमा नीतासँगै प्रसंशा क्षत्री र सुशीला राईसँग मिलेर नेपाललाई स्वर्ण पदक दिलाएका थिए। चौथो डान नीताले घरेलु प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी छन्।

सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी नीताले राखेप च्याम्पियनसिप, नवौं राष्ट्रिय खेलकुद र प्रथम एनटीए लिगमा पनि स्वर्ण जितेकी छन्। यस्तै नेपालमा भएको वर्ल्ड हामादान च्याम्पियनसिप, भारतमा भएको टीआईए इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, दोस्रो इन्डिया ओपन तेक्वान्दो च्याम्पियनसिप, भुटानमा भएको तेस्रो इन्टरनेसनल च्याम्पियनसिपलगायतका प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।

नीताले इन्टरनेसनल कोच ट्रेनिङ लेभल वान कोर्स पनि उतीर्ण गरेकी छन्। उनले सन् २०२२ मा यो कोर्स उतीर्ण गरेकी हुन्। इन्टरनेसनल कोच ट्रेनिङ लेभल वान कोर्स उतीर्ण गरेलगत्तै नीताले इरानको तेहरानमा भएको २६औं वर्ल्ड मिलिटरी तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन्।

 

तपाईको प्रतिक्रिया