Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २८ पुस २०८० । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रबन्धक रहेको सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध र सुरुङमा पानी पठाएर ‘वेट टेष्टिङ’ सुरु गरिएको छ ।

मध्य भोटेकोशी जलविद्युत् आयोजना प्रमुख सूर्यनाथ भूर्तेलका अनुसार शुक्रबार पहिलो पटक बाँधमा पानी पठाएर टेष्टिङ गरिएको हो । उनका अनुसार आयोजनाको बाँध, इन्टेक, गेट, सिस्याण्डर, स्टपलग, सुरुङगायतका हेडवर्क्सका संरचनाको प्रविधिक परीक्षण गरिनेछ ।

परीक्षण अवधि कम्तीमा आगामी १५ गतेसम्म रहनेछ । आयोजनाको बाँधस्थल चाकुदेखि भोटेकोशीको पानी घटबढ भइरहने भएकाले तटीय क्षेत्रका स्थानीयवासीको नाममा सार्वजनिक सूचनासमेत जारी गरिएको छ । भूर्तेलका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि परीक्षण उत्पादन सुरु हुनु अघि वेट टेष्टिङ गरेर आयोजनाको सबै संरचनाले तोकिएको काम गरेरनगरेको यकिन गर्न लागिएको हो ।

भोटकोकोशी गाउँपालिका–५ चाकु बजारमा निर्मित बाँधमा पानी पठाइएको छ । हरेक दिन पानीको मात्रा बढाएर ७ किमि सुरुङबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्मित विद्युत् गृहमा पानी पठाइनेछ । चीनको तिब्बतबाट हिमनदीको रुपमा बहने भोटेकाशी तातोपानी नाका भएर नेपाल प्रवेश गरेको छ । भोटकोशीमा निर्माण भएको यो दोस्रो ठूलो आयोजना हो ।

आयोजनाको कन्सल्ट्याण्टसहित प्राविधिक टोलीले अहिले पानी पठाएपछि बाँधमा जडित संरचनाले काम गरेरनगरेको परीक्षण गरिरहेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रामगोपाल सिवाकोटीका अनुसार परीक्षण पूरा गर्न कम्तिमा तीन साता लाग्नेछ । माघ १५–२० गतेसम्म परीक्षण उत्पादनको अवस्थामा पुग्ने आयोजनाको लक्ष्य छ । सुरुङको लम्बाइ धेरै भएकाले पानी पठाएपछि परीक्षणको समय बढी लाग्ने आयोजनाले जानकारी दिएको छ ।

२०६८ साल कात्तिकमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको उक्त कम्पनीले सन् २०१३ मा आयोजनाको निर्माण सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेको थियो । तर आन्तरिक र बाह्यसमस्याका कारण दशक पछि मात्र आयोजना विद्युत उत्पादनको अवस्थामा पुगेको हो ।

आयोजनाको आन्तरिक प्रशासनिक अव्यवस्था, स्थानीय राजनीतिक द्वन्द्व, बाढीपहिरो, भूकम्प, कोरोना लगायतका समस्याले निर्माणमा ढिलाइ भएको हो । निर्माणमा ढिलाइ भएपछि यसको लागत बढेको छ । २०६८ मा कुल लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेकोमा अहिले १९ देखि २० अर्ब पुग्ने अनुमान रहेको छ ।

आयोजनाको लागानीकर्ता चिलिमे विदु्युत् कम्पनी, विद्युत् प्राविधकरण, कर्मचारी सञ्चय कोष, स्थानीय निजी कम्पनी तथा प्रभावित वासिन्दा रहेका छन् ।

तपाईको प्रतिक्रिया