Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

विराटनगर, २८ पुस २०८० । सामाजिक सञ्जालमार्फत नजिक भएर ‘ब्ल्याकमेल’ गर्दै नेपाली युवतीहरुमाथि बारम्बार यौन शोषण गरेको आरोपमा विराटनगरबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको जोगवनीका २६ वर्षीय रवि कुमारलाई शुक्रबार नेपाल प्रहरीले पक्राउ गरेको हो।

विराटनगरको महेन्द्र चोकबाट उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार रवि कुमारलाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि काठमाडौं पठाइएको छ।

पीडित युवतीबाट उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जरबजस्ती करणीको जाहेरी परेको छ। जाहेरीका आधारमा प्रहरीले पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो। काठमाडौं प्रहरीले मोरङ प्रहरीसँगको समन्वयमा रवि कुमारलाई पक्राउ गरेको हो।

‘भारतीय बजार जोगवनीमा बसेर सामाजिक सञ्जालमार्फत अनलाइनमा सम्पर्क बढाएर नेपाली युवतीलाई ट्रयापमा पार्दै बारम्बार यौन शोषण गरेको आरोपमा रवि कुमारलाई पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘युवतीसँग सम्पर्क बनाएर होटलमा बोलाउने र यौन शोषण गर्ने गरेको खुलेको छ।’ रवि कुमारले यौन सम्बन्ध बनाएको भिडियोसमेत खिचेर युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रहरी अधिकारी बताउँछन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म १५ जनाभन्दा बढी नेपाली युवतीलाई ट्रयापमा परिसकेको खुलेको छ। प्रहरीका अनुसार उनले त्यसरी नै ‘ब्ल्याकमेल’ गर्दै ट्रयापमा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए। तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन्।

‘उनीबाट पीडित हुने नेपाली युवतीको संख्या बढ्दै गएको छ। किटानी जाहेरीका आधारमा खोजी भइरहेको थियो,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘उस्तै प्रकृतिको घटनाका लागि विराटनगर आएका बेला पक्राउ गरिएको हो। एकपटक यौन सम्बन्धमा बसेका किशोरीको भिडियो बनाएर उल्टै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको छ।’

प्रहरीका अनुसार अनलाइनमार्फत नजिक भएर साथी बनाएपछि यौन सम्बन्ध राखेर अश्लिल भिडियो बनाउने र युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको हो।

अश्लिल भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिने गर्न थालेपछि न्याय माग्दै पीडितहरु प्रहरीमा पुगेको जनाइएको छ। रवि कुमारले सामाजिक सञ्जालमा अश्लिल भिडियो ‘अपलोड’ गरिदिने धम्की दिँदै आफ्ना लागि हवाई टिकट काट्न र होटलका कोठा बुक गर्न लगाउने गरेको प्रहरीको भनाइ छ। त्यसवापतको सबै खर्च उनले युवतीलाई नै तिराउने गरेको पाइएको छ।

‘पक्राउ परेका भारतीय नागरिकले दिएको तनावका कारण कतिपय युवतीहरु आत्महत्या गर्ने मनस्थितिमा समेत पुगेको पाइएको छ। पहिलोपटक भने उनले आफ्नै खर्चमा युवतीलाई बोलाउने गरेको खुल्यो। यौन सम्बन्ध बनाएको भिडियो खिचेपछि भने ‘ब्ल्याकमेल’ गरेर पैसा माग्ने तथा भेट्दा बोलाएका बेला भएको सबै खर्च युवतीलाई तिराउने गरेको यकिन भएको छ,’ प्रहरी स्रोतले भन्यो।

प्रहरीका अनुसार उनीबाट पीडित हुने युवतीहरु धेरै काठमाडौंका छन्। रवि कुमार पक्राउ परेसँगै उनीबाट पीडित भएकाहरुको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ। काठमाडौं प्रहरी परिसरले जबरजस्ती करणी मुद्दा चलाउन उनीमाथि थप अनुसन्धान अघि बढाउने छ।

 

तपाईको प्रतिक्रिया