Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

खोटाङ, २५ पुस २०८० । खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारका तुलसीराम चौलागाईको घर र गोठ जल्दा २२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । मंगलबार राति चौलागाईंको एउटा घर, एउटा मतान र दुई वटा गोठमा आगलागी हुँदा २२ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईका अनुसार ढुङ्गा माटोले बनेको दुई तले एउटा घर, एउटा मतान र दुई वटा बर्खे गोठ पूर्ण रुपमा नष्ट भएको छ । आगलागीमा परी २ लाख ५० हजार नगद सहित अन्नपात, भाँडाकुडा, लत्ताकपडा, पशु चौपाया लगायत गरी २२ लाख ८८ हजारको क्षति भएको प्रहरीले मुचुल्का गरेको वडाअध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

उनका अनुसार गोठमा ४५ वटा खसी आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैंसी र एउटा पाडा भने बचाएका छन् । बेलुकी करिब सात बजेतिर सुरु भएको आगो गाउँपालिकाको दमकलले करिब ११ बजेतिर नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष अध्यक्ष राईको भनाई छ । चौलागाईको परिवारलाई तत्काललाई त्रिपाल दिइएको र फेरि अन्य सहयोग गर्ने तयारी गरिएको राईले बताए ।

आगलागीमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया