Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २३ पुस २०८० । नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ । त्यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशका तर्फबाट हस्ताक्षर भएको छ । नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले यो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

यो सम्झौताको अवधि २५ वर्ष हुने र प्रत्येक १० वर्ष पुनः नवीकरण हुँदै जानेछ । जेठ १७ मा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जासचिवका बिचमा प्रारम्भिक हस्तक्षर भएको थियो । त्यही सम्झौतालाई अन्तिम रुप दिने पूर्वसमझदारी अनुरुप हस्ताक्षर भएको हो ।

यो हस्ताक्षरले नेपालको विद्युत् भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालीन, मध्यकालीन र दीर्घकालसम्म खरिद सम्झौता गरी विद्युत् किन्न सक्ने जनाइएको छ । विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने आम जिज्ञासा छ ।

यो सम्झौता सकारात्मक भए पनि विद्युत् उत्पादन र बिक्री गर्नका लागि चाहिले पूर्वाधारहरु भने तयार छैनन् । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई अब विद्युत् उत्पादन, भण्डारण र वितरणमा पूर्वाधार विकास गर्नुपर्ने आवश्यक रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “१० बर्षमा १० हजार मेगावाट विद्युत् भारतलाई बेच्ने कुरा सकारात्मक छ । तर अहिले पर्याप्त पूर्वाधारहरु छैनन् । त्यसैले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । ” पूर्वाधार विकासका लागि भने लामो समय लाग्ने उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया