Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २२ पुस २०८० । कान्ति बाल अस्पतालले अब बिरामीलाई सिटी स्क्यान र एमआरआई सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६२औँ वार्षिकोत्सव अवसरमा आइतबार सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । उक्त मेसिन अस्पताललाई जापान सरकारबाट सहयोग प्राप्त भएको हो ।

उद्घाटन कार्यक्रममा अस्पतालका निर्देशक पङ्कज राय गमा सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको सेवा आइतबार बाट नै सुरु गरिने जानकारी दिनुभयो । साथै यो आर्थिक वर्षमा आकस्मिक कक्षमा बिरामीको गम्भीरताको आधारमा बिरामीको वर्गीकरण गरेर सेवा दिन सुरु गरिएको डा.रायले जानकारी दिनुभयो । डा.रायकाअनुसार आकस्मिक वार्ड बाहिर बिरामीको गम्भीरयताको लक्षण सहितको डिजिटल डिस्प्ले बोर्डको व्यवस्था गरिएको छ ।

त्यस्तैगरी, अस्पतालको वर्नवाडमा एचडियु र पिआइएमसियु वार्डमा आइसियु वार्ड सञ्चालन गरिएको उहाँको भनाई छ । अस्पतालले एक वर्षमा मन्त्रालयको निर्देशनमा ३५२ शय्या मध्ये २४८ शय्या निस्शुल्क शय्यामा परिणत गरेर सेवा दिइरहेको उहाँको भनाई छ ।

डा. रायले ले २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालमा ओपिडी र आकस्मिक कक्षमा एक लाख ९९ हजार २५६ जनाले सेवा लिएको जानकारी दिनुभयो । प्रतिवेदन अनुसार अस्पतालबाट ओपिडीबाट एक लाख ४६ हजार २४९, आकस्मिक कक्षबाट ५३ हजार सात जनाले सेवा लिएका छन् । नौ हजार ५३३ जना बिरामीले अस्पतालमा भर्ना भएर सेवा लिएका थिए । एक वर्षमा १८५ जना उपचाररत बालबालिकाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, दुई हजार ८४२ जनाले सामान्य देखि जटिल प्रकारका शल्यक्रिया भएको डा।रायले जानकारी दिनुभयो । अस्पतालबाट एक वर्षमा चार करोड ३१ लाख ३३ हजार ७४९ रकम बराबरको सेवा निःशुल्क सेवा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा अस्पतालका पूर्व निर्देशक डा.आरपी बीच्चाले कान्तिबाल अस्पताललाई अभिभावकत्व प्रदान गर्न स्वास्थ्य मन्त्री बस्नेतलाई आग्रह गर्नुभयो ।

डा. बच्चाले कान्ति बाल अस्पतालको जस्तै सेवा सुविधा युक्त अस्पताल सबै प्रदेशमा स्थापना गर्नुपर्नेमा माग गर्नुभयो । कान्ति बाल अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न जनशक्तिको वृद्धि गर्नुपर्ने उहाँले माग थियो । वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बस्नतेले स्वास्थ्य क्षेत्रमा ठुलै सङ्ख्यामा जनशक्ति वृद्धि हुने जानकारी दिनुभयो ।

एक जना चिकित्सक नर्सले पाँच जनाको बिरामी हेर्नुपर्ने बाध्यता भएको ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने भन्दै उहाँले अब छिटै जनशक्ति वृद्धि हुने जानकारी दिनुभएको हो । उहाँकाअनुसार चिकित्सक, नर्स र प्यारामेडिक्स गरेर नेपालको स्वास्थ्य क्षेत्रमा ९२ हजार स्वास्थ्यकर्मी आवश्यक पर्दछन् । हाल देशमा २८ हजार स्वास्थ्यकर्मी सेवारत छन् । उहाँले भन्नुभयो, “९२ हजार स्वास्थ्यकर्मी दिन सकेपनि त्यसको तीन भागको एक भाग स्वास्थ्यकर्मी दिन आग्रह गरेको छु । अब स्वास्थ्यले छिटै ठुलै सङ्ख्यामा जनशक्ति पाउँछ ।”

मन्त्री बस्नेतका अनुसार स्वास्थ्य मन्त्रालयले २०५४ साल देखि स्वास्थ्य दरबन्दी बढाएको छैन । ९२ आवश्यक पर्नेमा तथ्याङ्कमा ३१ हजार स्वास्थ्यकर्मी भएपनि यथार्थमा २८ हजार पनि नरहेको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया