Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ११ पुस २०८० । विशेष अदालतले अवकाशप्राप्त डीआईजी महेशबिक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।शाहसहित चार प्रहरीमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले डीआईजी पूर्व शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका छन् ।

सजाय भने २५ पुसमा सुनाइने छ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ ।

२०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण २०७६ माघमा अवकास पाएका थिए ।

त्यसको अर्को महिना २० फागुन २०७६ मा चार वर्ष पहिले भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

२०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको नया भर्ना सुरु भएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाँउबाट तलबभत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो ।

तर शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

१०३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार अनि नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप उनीहरुमाथि थियो । अख्तियारले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सञ्जिव विशंखेले लेखा परीक्षणका क्रममा त्रुटि लुकाएको भन्दै उनीविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको थियो ।

 

तपाईको प्रतिक्रिया