Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

विराटनगर, ३० मंसिर २०८० । कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरू पक्राउ परेको प्रहरीले जनाएको छ । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रिय जनमुक्ति पार्टी (सुनसरी सचिव) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा युवा संघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह‍–सचिव सुमन चेम्जोङ लिम्बू र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।

यसैगरी झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रिक मञ्च नेपालमा आबद्ध इलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका–७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन् ।

आन्दोलनको क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादी मोर्चाले शनिबार कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको थियो । बन्दको प्रभाव आंशिक रूपमा परेको देखिएको छ ।

नेकपा एमालेको सङ्कल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी आन्दोलनकारीले आह्वान गरेको बन्दले प्रदेशको पहाडी क्षेत्रको जनजीवन केही प्रभावित भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार बन्दको प्रभाव आंशिक छ। यातायातका साधनहरू केही कम भए पनि सबैतिर चलेको उनले दाबी गरे ।

पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरूको रिहाइको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार प्रदेशभर यातायात बन्दको घोषणा गरेको छ । बन्दका कारण पहाडी जिल्लाहरूमा यातायातका साधन चल्न सकेनन् ।

मङ्सिर २६ मा कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न सोही दिन पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनाको बिनाशर्त रिहाइको माग गरेको छ।

 

तपाईको प्रतिक्रिया