विराटनगर, २६ मंसिर २०८० । कोशी प्रदेशमा रहेको नेपाल प्रहरीको अस्पताल मोरङको बेलबारीबाट सुनसरीको इनरुवा सारिएको छ ।
११ फागुन २०७९ मा तत्कालिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पतालको शुभारम्भ गरेका थिए । तर एक वर्ष नपुग्दै उक्त अस्पपतालका सबै सामान सुनसरीको इनरुवामा सारिएको छ । अब कोशी प्रदेश अस्पतालले इनरुवाबाटै सेवा दिनेछ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बेलबारीमा ठाउँ साँघुरो भएका कारण अस्पताललाई फराकिलो ठाउँ इनरुवा सारिएको बताए । इनरुवास्थित जिल्ला समन्वय समितिको भवनमा प्रहरी अस्पताल राखिएको छ ।
बेलबारीमा इलाका प्रहरी कार्यालय नयाँ भवनमा सरेपछि पुरानो भवनमा अस्पताल सञ्चालन गरिएको थियो । तर साँघुरो भवनमा अस्पतालका लागि आवश्यक उपकरण राख्ने ठाउँ नभएपछि इनरुवा सारिएको बास्तोलाले जानकारी दिए ।
‘बेलबारीमा ठाउँ सानो भएका कारण खुला र भौतिक संरचना भएको ठाउँ इनरुवामा सारिएको हो’, उनले भने, ‘कोशी प्रदेशमै छ बाहिर गएको छैन ।’
बेलबारीका बासिन्दाले भने प्रहरी अस्पताल सारेकामा असन्तुष्टि जनाएका छन् । बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले प्रहरीले माग गरे अनुसार दुई बिघा जग्गा खोजिदिँदा पनि सल्लाह नगरी सारेको गुनासो गरे ।
‘नगरको अस्पताल पनि बन्दैछ, त्यहीँ समन्वय गरेर चलाउन दिने सल्लाह पनि थियो, प्रहरीले मागेको दुई बिघा जग्गा दिन दाता पनि खोजेका थियौं’, मेयर राईले भने, ‘म बुबाको काममा संखुवासभा आएको छु, आज बिहान मात्रै अस्पताल सारेको थाहा भयो ।’अनलाइनखबरबाट






