चितवन, २५ मंसिर २०८० । भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिकरूपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न सो बर्थिङ युनिट थप गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको नयाँ युनिट प्रसूति भवनको नजिकै थप गरिएको हो ।
प्रसूतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलालाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक पनि सँगै रहने व्यवस्था गरिएको छ ।
प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा तिवारीले बताए । अभिभावकसँगै प्रत्येक स्वीट्सरुममा एक जना नर्स रहने व्यवस्था गरिएको छ ।रासस






