Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

काठमाडौँ, २३ मंसिर २०८० । धान, मकै र गहुँ मुख्य खाद्यान्न बाली नेपाल मुख्य बाली हो । यी बालीमा विभिन्न खाले रोग लाग्ने गर्दछ । धानमा मरुवा रोग, डढुवा रोग, फेद कुहिने रोग, मकैमा ध्वाँसे थेग्ले रोग, गहुँको सिन्दुरे रोग, डढुवा रोग लगायत देखा पर्दछ । यी बालीमा लाग्ने रोगको पहिचान, लक्षण र रोकथामको विषयमा चर्चा गरिएको छ ।

धानको मरुवा रोग

धानको मरुवा नेपाल लगायत संसार भर नै फैलिएको एक ढुसीजन्य (पाइस्कुिलरिया ग्रिसिया स्याक) ध्वंसात्मक रोग हो । यस रोगले बाली उत्पादनमा १० देखि २० प्रतिशत सम्म क्षति पुर्‍याउने पाइएको छ । यो रोग धानको बेर्ना, वृद्धि हुने अवस्था तथा बाला पसाइ सकेपछि पनि लाग्ने गर्दछ । यदि धानको वालामा मरुवा रोग लागेमा बाली उत्पादनमा शत प्रतिशतसम्म नोक्सान पुर्‍याउँछ ।

रोगका प्रमुख लक्षण

धानको मरुवा रोग लागेको सुरु अवस्थामा बालीको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिन्छ । पछि सङ्क्रमण बढ्दै जाँदा पातमा दुवैतिर चुच्चो अण्डाकार खैरो थोप्ला जसको बिचमा सेतो विन्दु हुन्छ, जुन यस रोगको सामान्य र सजिलै चिन्न सकिने लक्षण हो ।
यो रोगको सङ्क्रमण बढी भएमा धानको पात डढेको जस्तो देखिन्छ र पात सुक्छ । धानको बालाको घाँटीमा आक्रमण भएमा खैरो रङको दाग बाला तलको डाँठ वा आँख्लामा देखिन्छ र बालाको ठिक मुनी भाँचिन्छ जसलाई यस रोगको ध्वंसात्मक अवस्था मानिन्छ ।

रोगको श्रोत र फैलिने अवस्था

ओसिलो, न्यानो (२१ डिग्री सेल्सियस तापक्रम) र रोग ग्रहणक्षम जात यो रोगको विकास क्रमका लागि उत्तम हो । यो रोग रोगी बीउ, सङ्क्रमित पानी, परालका ठुटा तथा झारपातहरू रोगका श्रोत हुन् ।

व्यवस्थापनका उपाय

रोग नलाग्ने तथा सहन सक्ने धानको जात प्रयोग गर्ने । जस्तै खुमल–४, खुमल–८, खुमल–१०, खुमल–११, चन्दननाथ–१, परवानीपुर–१, जानकी, हर्दिनाथ–१ सुख्खा–१ आदि जात लगाउने । नाइट्रोजनयुक्त मल जस्तै युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास मल पनि सिफारिस मात्रामा प्रयोग गर्ने । २ ग्राम प्रति के.जी. का दरले धानको बीउ उपचार गर्ने । खेतबारी, आली तथा वरिपरि रहेका अन्न बाली जातको झारपात हटाइ खेत सफा राख्ने । बेर्ना गाँजिरहेको अवस्थामा यो रोग लागेमा Kasugamycin 3% SL १.५ मिलिलिटर वा Tricyclazole 75% WP jf Carbendazim 50% WP २ मिलिलिटर प्रति लिटर पानीका दरले १५ दिनको फरकमा दुईदेखि तीन पटक छर्ने र घाँटीमा मरुवा देखिएमा बाला निस्कने बेलामा एकपटक र बाला निस्केपछि एक पटक उल्लेखित विषादी छर्ने ।

धानको डढुवा रोग

बढी उत्पादन दिने जातहरूको प्रवेश सँगै नेपालको तराई क्षेत्रबाट प्रवेश गरेको यो रोग हाल तराई तथा मध्य पहाडी क्षेत्रका धेरैजसो स्थानहरूमा देखिने गर्दछ । यो रोग एक ब्याक्टेरिया  (Xanthomonas oryzae pv. oryzae) जनित रोग हो । यस रोगका कारणबाट २६ प्रतिशत सम्म उत्पादनमा कमी हुन सक्दछ । यो रोगको प्रकोप उच्च आर्द्रता भएको क्षेत्रहरूमा बढी हुने गर्दछ। तुलनात्मक रूपमा यो रोग नेपालको पूर्वी क्षेत्रमा बढी पाइएको छ ।

रोगका प्रमुख लक्षणहरू

धानको पातको किनारामा भिजेको जस्तो दाग देखिन्छ र दाग बढेर किनारा तरंगी (wavy) हुँदै पहेँलो वा हलुका खैरो रङ्गका देखिन्छन् ।
धानका पातहरू टुप्पोबाट सुकेर मर्दछन् ।
कलिलो बोटमा आक्रमण गरेमा ओइलाउने र मर्ने हुन्छ । जसलाई क्रेसेक भनिन्छ ।
रोग ग्रस्त बोटको डाँठलाई काटी निचोर्दा हल्का पहेँलो पदार्थ  (Bacterial ooze) निस्किन्छ । रोगी पातलाई काटेर पानी भरेको सिसाको गीलास वा टेष्ट ट्युबमा नचलाई राखेमा काटिएको भागबाट शाकाणु पानीमा धुवाँ जस्तै गरी फैलिएको देख्न सकिन्छ ।

रोगको श्रोत र फैलिने अवस्था

यो एक ब्याक्टेरिया जन्य रोग हो । यो रोग विशेष गरी उच्च आर्द्रता भएको क्षेत्रमा ज्यादा देखिन्छ । तुलनात्मक रूपमा यो रोग नेपालको पूर्वी क्षेत्रमा ज्यादा पाइएको छ । आर्द्र मौसम, उच्च तापमान तथा हावाको बहावले यो रोगको फैलावटलाई सहयोग पुर्‍याउने गर्दछ । २५ देखि ३४ डिग्री सेल्सियस तापमान र ७० प्रतिशत भन्दा बढी भएको अवस्थामा यो रोगको प्रकोप बढी हुने गर्दछ । रोग लागेको पात सुरुमा हल्का पहेँलो देखिए पनि पछि सुकेर जान्छ । ब्याक्टेरिया stomata वा चोट लागेको ठाउँ बाट छिर्ने हुन्छ । रोग ग्रस्त बीउ तथा खेतबारीमा रहेका वाली अवशेषहरूका साथै वैकल्पिक आश्रयदाता बिरुवाहरूको माध्यमबाट यो रोगको सुरुवात हुने गर्दछ । रोग ग्रस्त खेतबाट स्वस्थ खेतमा बगेको पानीको माध्यमबाट पनि यो रोग फैलिन सक्दछ ।

व्यवस्थापनका उपायहरू

रोग अवरोधक जातको प्रयोग गर्ने । सिफारिस अनुसारको रासायनिक मल प्रयोग गर्ने । नाइट्रोजनयुक्त मलको अधिक प्रयोग हुँदा यो रोगको प्रकोप बढी हुने गर्दछ । एग्रीमाइसिन–१०० विषादी ०.२५ ग्राम वा स्ट्रेप्टोमाइसिन सल्फेट ९% + टेट्रासाइक्लिन हाइड्रोक्लोराइड १५ डब्लु ०.२५ ग्राम प्रति लिटरका दरले बनाएको झोलमा बीउलाई ३० मिनेट डुबाएर बीउ उपचार गर्ने ।
रोग लागेको खेतमा केही दिन पानी सुकाउने, रोग लागेको खेतबाट स्वस्थ खेतमा पानी जान नदिने ।

धान बालीको फेद कुहिने रोग

तराई, भित्री तराई, उपत्यका तथा पहाडी क्षेत्रमा बढी लाग्ने धान बालीको फेद कुहिने रोग (Fusariusm moniliferme) नामक ढुसीबाट लाग्दछ । यो जीवाणुले धान बाली लगायत धेरै बालीहरू मकै, उखु, प्याज, जुनेलो, तोरी, काउली र विभिन्न दाल बाली दाल बाली आदिहरूमा आक्रमण गर्दछ । यो रोग नेपालको अधिकांश क्षेत्रमा तराई देखि पहाड सबै तिर फैलिएको पाइन्छ ।

रोगका प्रमुख लक्षणहरू

यो रोगले गर्दा ब्याडमा बेर्नाहरू स्वस्थ बेर्नाहरू भन्दा अग्लो हुने, पहेँलिने र अन्त्यमा कुहिएर मर्ने हुन्छ । खेतमा स्वस्थ बोट भन्दा अग्लो, अलि पहेँलो, पातलो पात, थोरै गाज हुने आउने र आंशिक रूपले दाना लाग्ने वा दानै नलाग्ने हुन्छन् । मकैमा जस्तै गाँजको तल्लो आँख्लाहरूबाट समेत जराहरू आउँदछ । जरामा घाउ/दाग देखिन्छ । बोटको तल्लो भागमा सेतो पाउडर जस्तो पनि देखिन सक्छ ।

रोगको श्रोत र फैलिने अवस्था

यो रोगका जीवाणुहरू खास गरी बीउबाट सर्ने गर्दछ । जीवाणुहरू माटोमा र बिरुवाका ठुट्टाहरुमा पनि रहन्छन् । हावाबाट स्वस्थ बोटमा सर्छ । रोग लाग्ने जातको खेती, रोगी बीउ र बढी नाइट्रोजनयुक्त मलको प्रयोगले यो रोग लाग्दछ । बढी तापक्रम (२० डिग्री देखि ३० डिग्री से.), बढी आर्द्रता र धान खेतमा यो रोगको बढी प्रकोप हुन्छ ।

व्यवस्थापनका उपायहरू

रोग निरोधक जात जस्तै खुमल ११ र ताईचुङ्ग १७६ लगाउने । खुमल ४ जस्तो रोग लाग्ने जात नलगाउने । स्वस्थ बीउको प्रयोग गर्ने र नाइट्रोजन मल चाहिने मात्रा भन्दा बढी प्रयोग नगर्ने । प्रकोप बढी भएको ठाउँमा खाद्यान्न बाली बाहेक अन्य बाली सँग बाली चक्र अपनाउने ।
प्रकोप भएको ठाउँमा बाली कटानी पछि बिरुवाका ठुट्टाहरु उखाली नष्ट गर्ने । रोगी बोट देखा साथ उखालेर नष्ट गर्ने । बीउलाई कार्बेन्डाईजिम  ५० % डब्लु.पी.ले २ ग्राम प्रति केजीका दरले उपचार गर्ने । ब्याड तयार गर्दा माटोमा रहेको ढुसी नियन्त्रण गर्न कार्बेन्डाईजिम ५० % डब्लू.पी.ले ६ ग्राम तीन लिटर पानीको झोलले १ वर्ग मिटर क्षेत्रफललाई उपचार गर्ने । खेतमा रोग देखिए कार्बेन्डाईजिम  ५० % डब्लु. पी. १.५ ग्राम प्रति लिटर पानीका दरले बोटको फेदमा छर्ने ।

गहुँको डढुवा रोग

यो रोग ढुसी (Bipolaris sorakiniana र Drechslera tritici–repentis)  द्वारा लाग्ने गहुँ बालीको प्रमुख रोग हो । जुन तराई क्षेत्रमा मुख्य रूपमा लाग्ने भएता पनि हाल उपत्यका, बेँसी तथा मध्य पहाडमा पनि यस रोगको प्रकोप बढेको पाइएको छ । यो रोगको प्रकोप आर. आर २१ र नेपाल २९७ जातको गहुँमा बढी हुन्छ जसले गहुँको उत्पादनमा करिब २० देखि ५० प्रतिशतसम्म कमी ल्याउँछ ।

रोगका प्रमुख लक्षणहरू

सुरुमा यस रोगको लक्षण पातमा सानो सानो खैरो वा गाढा खैरो रङका थोप्ला देखिन्छन् । पछि सानो थोप्लाहरू अण्डाकारमा बदलिन्छन् । जसको बिचको भाग खरानी तथा पराले रङको र वरिपरि पहेँलो अस्पष्ट घेराले घेरिएको हुन्छ । बढी आक्रमण भएको खण्डमा थोप्लाहरू आपसमा जोडिन्छन् र पात सुकेको वा डढेको देखिन्छ । जरामा पनि कालो अथवा खैरो दागहरू देखिन्छन् जसले गर्दा बोट होचो र कम गाँजिने हुन्छ ।

रोगको श्रोत र फैलिने अवस्था

माटो र बीउबाट हरेक बर्ष फैलिने यो रोग बढ्दो तापक्रमको साथसाथै रोगको वृद्धि पनि छिटो हुँदै जान्छ । गहुँ काटेपछि खेतमा छोडिएका ठुटाहरू, केही झारपातहरू (रगतेझार) मा पनि रोगको जीवाणुहरू वृद्धि भई रोग ल्याउन मद्दत पुर्‍याई रहेको हुन्छ ।

न्यानो, बढी गर्मी र सापेक्षिक आर्द्रता धेरै भएको क्षेत्रमा यो रोग बढी लाग्दछ ।

व्यवस्थापनका उपाय

बाली काटिसकेपछि रोगी ठुटा र रोगी बिरुवा जम्मा गरेर जलाउने । मलिलो जग्गामा मात्र गहुँ लगाउने वा प्राङ्गारिक मलको प्रशस्त प्रयोग गरी गहुँ लगाउने । स्वस्थ बीउको प्रयोग गर्नुको साथै रोगी बीउ नलगाउने । रोग अवरोधक जातको प्रयोग गर्नुका साथै ब्याडमा गहुँ लगाउने । भाइटाभ्याक्स–२०० नामक ढुसीनाशक विषादी २ देखि २.५ ग्राम प्रति के।जी बीउका दरले बीउ उपचार गरी छर्ने । बाक्लो गरी बीउ नछर्ने र सिफारिस मात्रामा बीउ प्रयोग गर्नुको साथै सिचाइको व्यवस्था प्रशस्त गर्ने ।
Propiconazole २५%  २५५ ई.सी नामक विषादी १ मि.ली. प्रति लिटर पानीका दरले मिसाइ २ हप्ताको अन्तरमा ३ पटक बोट भिज्ने गरी छर्ने ।

गहुँको सिन्दुरे रोग

सिन्दुरे रोग  (Rust Disease) गहुँ बालीमा लाग्ने एक प्रमुख ढुसीजन्य रोग हो । यो पकसिनिया (Puccinia spp.) नामक ढुसीको कारण लाग्दछ । नेपालमा तिन प्रकारका सिन्दुरे रोगहरू (खैरो, पहेँलो र कालो सिन्दुरे) गहुँमा लाग्ने गरेको पाइन्छ । यसले २०–८० प्रतिशत सम्म उत्पादनमा ह्रास गरेको पाइन्छ ।

रोगका प्रमुख लक्षणहरू

खैरो वा पात सिन्दुरे (Brown / Leaf Rust) : पातको माथिल्लो सतहमा खैरो वा सुन्तला रङ्गका छुट्टाछुटै फोकाहरू  (Pustules) देखिन्छन् र हातले छोएमा सिन्दुरे जस्तो पाउडर (युरेडिया)औंलामा टाँसिन्छ ।
पहेँलो वा धर्से सिन्दुरे (Yellow / Stripe Rust) : पातको माथिल्लो सतहमा पहेँलो सुन्तला रङका लाम्चिला फोकाहरू एक अर्कासँग मिली धर्सा परेर रहेका हुन्छन् ।
कालो वा डाँठ सिन्दुरे रोग (Black/Stem Rust) : डाँठमा ढुसीका फोकाहरू गाढा रातो वा काला रङका हुन्छन् । पछि गएर रोगको प्रकोप बढ्दै जाँदा पात हुँदै बाला सम्म आक्रमण गर्छ ।

रोगको श्रोत र फैलिने अवस्था

रोगको ढुसी वैकल्पिक आश्रय दाता बिरुवाहरू (Alternate hosts); चुत्रो (Berberis spp.) थालिकट्रम(Thalictrum spp.) र गहुँबाली मा नै बाँच्छन् ।
खैरो सिन्दुरे रोगको लागि १०–२५ डिग्री सेन्टिग्रेड तापक्रम र प्रशस्त आर्द्रता चाहिन्छ भने पहेँलो सिन्दुरे फैलन प्रशस्त सापेक्षिक आर्द्रता र १६ डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त हुन्छ ।
कालो सिन्दुरे रोग वृद्धिका लागि दिनमा २०–३० डिग्री सेन्टिग्रेड, रातमा मध्यम तापक्रम १५–२० डिग्री सेन्टिग्रेड र वर्षा वा शीतले भिजेको डाँठ वा पातहरू चाहिन्छ ।
हावाले ढुसीका विजाणुहरु (युरेडीनियोस्पोर्स) धेरै टाढासम्म फैलाई रोग सार्नमा मद्दत गर्दछ ।

व्यवस्थापनका उपायहरु

रोग अवरोधक जातहरू (खैरो सिन्दुरे: एन.एल. ९७१, वि.एल. ४३४१, वाणगंगा, आदित्य, गौतम आदिस पहेँलो सिन्दुरे: स्वोर्गद्वारी, च्याखुरा, मुनाल, डब्लु.के. १२०४ आदिस कालो सिन्दुरे: विजय, धौलागिरि, तिलोत्तमा, डाँफे, स्वोर्गद्वारी, वाणगंगा, मुनाल, च्याखुरा आदि) लगाउने ।
वैकल्पिक आश्रय दाता बिरुवा (Alternate host), चुत्रो (Berberis spp.) हटाउने ।
सिफारिस गरिए अनुसार मलखादको प्रयोग गर्ने ।
गहुँ समयमा (तराईमा कार्तिकको दोस्रो हप्ता र पहाडमा मङ्सिरको दोस्रो हप्ता भित्र) लगाउने ।
Propiconazole २५%  ई.सि. नामक झोल विषादीले ०.७५ मिलिलिटर प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा दुई पटक छर्ने ।

मकैको डाँठ कुहिने रोग

यो रोग ब्याक्टेरिया र ढुसीको संयुक्त प्रयासबाट लाग्ने गर्दछ । यस रोगको कारण ईवीनिया नामक ब्याक्टेरिया र पाईथियम, फ्युजारियम, राईजोक्टोनिया ढुसी भएता पनि यहाँ शाकाणु (व्याक्टेरिया) लाग्ने रोगको बारेमा चर्चा गरिएको छ । यस रोगबाट ग्रसित बिरुवामा घोगा लाग्दैन, यदि लागि हाले पनि साना र थोते घोगा लाग्दछन् । साधरणतया मकै पाक्नु अगावै बोट ढलेर जान्छ ।

रोगका प्रमुख लक्षण

यो रोग मकैको धान चमरा निस्किने बेलामा सुरु हुन्छ । बोटहरू ओइलाउने र पातहरू पानीले भिजेको जस्तो भई पहेँलिएर सुकेर जान्छ ।
जमिन भन्दा एक बित्ता माथिको भागमा खैरो रङको लामो धर्का जस्तो लक्षण बढ्दै गएर गुदीको रङ परिवर्तन हुन्छ । जरासम्म नै डाँठ कुहिएर जान्छ । सङ्क्रमण भएका भागहरू कुहिएको माछा जस्तो गन्हाउँछ । आखिरमा बोट रोग लागेको भागमा भाँचिन्छ ।

रोगको श्रोत र फैलिने अवस्था

सङ्क्रमित क्षेत्रबाट उत्पादित बीउको प्रयोगबाट यो रोग फैलिने हुन्छ । माटो तथा रोग लागेका पुराना ठुटाहरू रोग सार्ने श्रोत हुन् ।
तापक्रम र सापेक्षिक आर्द्रता हुँदा बिरुवामा चोटपटक लागेमा वा गवारोले आक्रमण गरेमा रोगको प्रकोप बढी हुने गर्दछ।
२५ देखि ३० डिग्री से तापक्रम र नाइट्रोजनको मात्रा माटोमा बढी भएमा पनि रोगको प्रकोप बढ्छ ।

व्यवस्थापनका उपाय

बीउको उपचार । खेतबारीमा पानीको राम्रो निकास बनाउने । गोडमेल गर्दा बोट, जरामा चोट लाग्न नदिने ।
सन्तुलित मात्रामा मल प्रयोग गर्ने । गबारो नियन्त्रणका लागि डाइमेथोएट ३०%  ई.सी. १.५ मिली प्रति लिटर वा थायामेथोक्जाम १२.६% ई.सी. साइलाथ्रिन ९.३% ई.सी. १ मिली प्रति लिटर पानीमा मिसाई ५०० लिटर मिश्रण प्रति हेक्टर छर्ने ।

मकैको ध्वाँसे थेग्ले रोग

मकै बालीमा लाग्ने ध्वाँसे थेग्ले रोग (Gray Leaf Spot) एक प्रकारको ढुसीजन्य रोग हो । यो सर्कोस्पोरा जिया मेडिस (Cercospora zea–maydis) नामक ढुसीको कारण लाग्दछ । यो जीवाणुले मकैबालीमा मात्र आक्रमण गर्दछ । नेपालमा सर्वप्रथम वि.सं. २०६३ सालमा काभ्रेपलान्चोक जिल्लाको ढुंखर्क गा.वि.स. बाट यो रोगको पहिचान भएको थियो । यो रोग मध्य तथा उच्च पहाडी भेग (१४००–२००० मिटर) मा प्रकोपको रूपमा देखा पर्ने गर्दछ । यस रोगले ६० देखि ९५ प्रतिशत सम्म उत्पादनमा ह्रास गरेको पाइन्छ ।

रोगका प्रमुख लक्षणहरू

सुरुमा ढुसीले फेद नजिकको पातमा आक्रमण गरी स–साना पहेँला वा खेरा दागहरू बनाउँदछ र पछि गएर पातको नशासंग समानान्तर लाम्चिला धर्सा वा थेग्लाहरुमा परिणत हुन्छन् । यिनीहरू किनारा नभएका पहेँला चतुर्भुज आकारमा लस्करै देखिन्छन् ।
थेग्लाहरू एक आपसमा जोडिएर पात पुरै ध्वाँसे रङमा बदलिई डढ्छन् ।
यो रोगले घोगाको खोस्टामा पनि आक्रमण गर्दछ । बोटको डाँठमा गाढा खैरा रङका ठुला लाम्चिला वा साना बाटुला आकारका दागहरू बनाउँदछ ।

रोगको श्रोत र फैलिने अवस्था

रोगको ढुसी बीउबाट सर्दैन । माटोमा गल्न नसकेका रोगी बोटका भागहरू जस्तैस् डाँठ, पात, पातको फेद, घोगाको खोस्टा आदि रोग फैलाउने पहिलो स्रोत हुन् । यो रोग बढ्नको लागि तापक्रम २३–३५ डिग्री सेन्टिग्रेड र सापेक्षिक आर्द्रता ९० प्रतिशत हुनुपर्दछ । बीउ बाक्लो गरी छर्ने, खेतबारीमा हावा कम खेल्न पाउनु र सिधा घाम नपर्नु, मलखाद सिफारिस मात्रामा प्रयोग नगर्नु, पानी निकासको व्यवस्था नहुनु आदि कारणले पनि यो रोगको प्रकोप बढ्न सहयोग गर्दछ ।

व्यवस्थापनका उपाय

रोगले ग्रस्त भएका बोट तथा विभिन्न भागहरू एक ठाउँमा थुपारी जलाइदिने । रोग अवरोधक जातहरू जस्तैस् गणेश–१, मनकामना–१, मनकामना–३, मनकामना–६, देउती, हिलपूल पहेँलो लगाउने । मकै छिटो रोप्ने (फागुन महिनाभित्र) जसले गर्दा रोग लागिहाले पनि उत्पादनमा खासै असर पर्दैन ।
मलखादको सिफारिस मात्रा प्रयोग गर्ने र कम्तीमा २ वर्षसम्म घुम्ती बालीको रूपमा धान, गहुँ, सिमी, भटमास, आलु, जौ, तरकारी लगाउने ।
रोग देखा पर्ने बित्तिकै कार्बेन्डाजिम  ५०%  डब्लु.पी. १ ग्राम वा म्यानकोजेब ७५%  डब्लु.पी. वा म्यानकोजेब ६३ %+कार्बेन्डाजिम १२%  डब्लु पी २ ग्राम/ली.पानीमा मिसाई छर्ने ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया