Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ९ मंसिर २०८० । मेची रंगशाला भद्रपुरमा प्रथम अन्त पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा शनिबार भएको खेल जितेसँगै कमल र झापाले तीन तीन अंक जोडेका छन् ।

पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हरायो । खेलको ११ औँ मिनेटमा कमलका नरबहादुर मगरले गोल गरे । त्यस्तै, खेलको ५९ औँ मिनेटमा युनिस मगरले अर्को गोल थपे । दमकका सञ्जय धिमालले ७२ औँ सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ दि म्याच कमलका युनिस मगर भएसँगै उनले नगद २ हजार र ट्रफी प्राप्त गरेका छन् । यसैबीच, शनिबार भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले गौरादह नगरपालिकालाई ३–० गोल अन्तरले हरायो । जारी लिगमा यो नै ठुलो गोल अन्तरको जित हो ।

झापाको तर्फबाट खेलको १९ औँ मिनेटमा मर्गुस किस्कू, ३२ औँ मिनेटमा कप्तान मिलन ताम्ली र ५४ औँ मिनेटमा किरण लिम्बूले गोल गरे । खेलको प्लेयर अफ दि म्याच झापाका उमेश मुर्मू भए । उनले नगद २ हजार र ट्रफी प्राप्त गरेका छन् । आइतबार हुने पहिलो खेल हल्दिबारी गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाबीच हुनेछ । दोस्रो खेल मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

तपाईको प्रतिक्रिया