Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बारा, ९ असोज २०८० । बाराको पचरौता नगरपालिका-६ पकडीया गाउँको लक्ष्मीनिया पोखरीको डिलमा मंगलबार साँझ फेरि एक युवकको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

भारतबाट दुईवटा मोटरसाइकलमा आएका युवाहरूको समूहले भारत दारपा थानाअन्तर्गत सुकलैयाका २२ वर्षीय अजितकुमार सिंहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रवि भूषण यादवका अनुसार नेपाल-भारत सीमावर्ती गाउँमा ती युवकको हत्या भएको थियो । हत्या गरिएका युवकसँगै आएका ५ जनाको समूहले कन्चट र घाँटीमा गोली हानी उक्त समूह फेरि भारततर्फ भागेको स्थानीयहरूले बताएका छन् ।

घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३६ घण्टा नबित्दै सोही पालिकामा यो दोस्रो हत्या हो ।

आइतबार मध्य रातमा दसगजामा सशस्त्र प्रहरीका पूर्वजवान पचरौता-१ पिपरपाती निवासी ३४ वर्षीय अमरेश सिंहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । मंगलबारको घटनाबारे अनुसन्धानसँगै मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया