हाङजाउ, ६ असोज २०८० । एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए ।
१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरु भएका थिए ।
चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया ९ओसिएका० कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।
त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।
एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।
कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ ।
कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ ।
एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा हार्ट टु हार्ट अर्थात मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ शहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।
उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो । प्रविधिको शहरको रुपमा चिनिने हान्झाउलाई पहाड र तालको शहर समेत भनिन्छ । वेस्ट लेक यहाँको चर्चित ताल हो ।
अहिलेसम्मकै ठूलो एसियाड
चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । यस पटक एसियाडमा एसियाका पूरै ४५ देश सहभागी छन् भने १२ हजार भन्दा धेरै खेलाडीको सहभागिता रहेको छ ।
एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाडको इतिहासमै कुनै पनि संस्करणमा सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो ।
सन् १९५१ मा छिमेकी भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो । एसियाडमा ४० खेलको ४८१ इभेन्टहरु समावेश गरिएको छ । जसका लागि ५४ खेल स्थल प्रयोग हुनेछ भने १४ नयाँ निर्माण गरिएको छ ।