Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

सुनसरी, ६ असोज २०८० । अर्गानिक बेसारको नाममा खुदीको पिठो र रङ मिसाएर बजारमा लैजाने तयारी भइरहेका बेला धरानका मिल सञ्चालक दम्पती र धनकुटाको साँगुरीगढीका एक जनालाई खाद्य अनुगमन टोलीले रंगेहात फेला पारेको छ ।

टोलीले धरान-११ विष्णु चोकस्थित चण्डेश्वरी कुटानी पिसानी मिलका सञ्चालक बर्खमान श्रेष्ठ, प्रमिला श्रेष्ठ र अजम सिंह राईलाई फोहोर भुइँमै बेसारमा खुदीको पिठो र अखाद्य रंग मिसावट मिसावट गरिरहेको अवस्थामा भेटेको हो ।

खाद्य ऐनविपरीत कसुर गरेकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) अनुसार दण्ड जरिवाना गर्ने निर्देशन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले दिएको छ ।

धरान उपमहानगरपालिकाका खाद्य अनुगमन अधिकृत वेदप्रसाद सापकोटाकाअनुसार मिलमा ३ सय केजी बेसारमा ३ सय २८ केजी खुदी र सिन्थेटिक रङ मिसाएर ‘अर्गानिक बेसार’ बनाइरहेको अवस्थामा श्रेष्ठ दम्पती र राईलाई भेटिएका थिए । मिलमा ४५ बोरामा करिब २ हजार किलो ‘अर्गानिक बेसार’ बजारमा पठाउने तयारी भएको पनि अनुगमन अधिकृत सापकोटाले बताए ।

‘अर्गानिक बेसारको नाममा खुदीका पिठो र सिन्थेटिक रङ मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको देखियो‚’ उनले भने । टोलीले अनुगमन नगरेको भए यो साताभित्र मिल संचालकहरुले करिब २० लाख रुपैयाँ बराबरको मिसावटयुक्त बेसार बजारमा पुर्‍याउने तयारी रहेको खुलेको छ । चामलको कनिका (खुदी) बजारमा प्रतिकिलो ४० देखि ५० रुपैया पर्छ । खुदी जाँड-रक्सी पार्न, सुँगुर-बंगुर र गाईवस्तु, कुखुराको खोले चारो बनाउने काममा धेरै प्रयोग हुन्छ । मसला उद्योगले आधा बेसारमा आधा खुदी मिसाएर तयार गरेको ‘अर्गानिक बेसार’ प्रतिकिलो करिब ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको खुलासा भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य निरीक्षक बादल चेम्जोङले भनिन्, ‘मिसावट गर्नेलाई तत्कालका लागि २ लाख रुपैयाँ जरिवाना र बजार लैजान तयार गरिएका ४५ बोरा बेसार नष्ट गर्ने सर्तमा चेतावनीसहित छाडिएको छ ।’ उनका अनुसार मिल सञ्चालकले बेसारमा खुदीसँगै अजन्ता ब्राण्डको ओरेन्ज रेड भन्ने रङ प्रयोग गरेको पाइएको थियो ।

मिसावट गर्नेलाई खाद्य ऐन अनुसार ५ वर्ष जेल र ५० हजार जरिवाना पनि गर्न सकिन्छ । तर यो प्रक्रिया लामो हुने भएकाले हाललाई जरिवाना मात्रै गराइएको उनले बताइन । खाद्य ऐनअनुसार बेसारमा कुनै पनि रंग र खाद्य पदार्थ मिसावट गर्न पाइँदैन । बेसारमा प्रयोग गरिएको सिन्थेटिक रङ पकाउदा क्यान्सर गराउने तत्वमा परिणत हुने भएकाले पकाएर खाने चिजमा मापदण्ड विपरीत मिसावट गर्नु हुँदैन ।

‘धरान-२० विष्णुपादुका अर्गानिक बेसारको पकेट क्षेत्र हो । त्यहीँको नाम बेचेर अर्गानिक बेसार भन्दै मिसावटयुक्त बेचेर उपभोक्ताको चुला सम्म पुर्‍याउने अरु पनि सुन्नमा आएको छ । हामी अनुगमन कडा पार्छौं‚’ उनले भनिन् ।

विष्णुपादुका कर्क्यूमिन औषधीय गुण भएको बेसार उत्पादन हुने क्षेत्र मानिन्छ । बेसारमा हुने कर्क्यूमिन क्यान्सरको औषधि बनाउन प्रयोग हुन्छ । विष्णुपादुकाको अर्गानिक बेसार भनेर प्रौढ उमेरकाहरुलाई बोकाएर घर(घर बेच्न पठाउँदा उपभोक्ताले सहजै किन्ने गरेका छन् । ४०-५० रुपैयाँ किलोको खुदी मिसाएको बेसार ४–५ सय रुपैयाँ किलोमा बिक्री गर्नु पनि आर्थिकरुपमा ठगी पनि भएको खाद्य निरिक्षक चेम्जोङले बताइन् । जरिवाना रकम श्रेष्ठ दम्पती र अजमलाई धरान उपमहानगरपालिकाको राजस्व शाखामा बुझाउन निर्देशन दिइएको छ ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया