Online Bichar
सोमबार, जेठ १४, २०८१ | Monday, May 27, 2024

बिर्तामोड, ३१ भदौ २०८० । झापाको बिर्तामोडमा घरको छतबाट झरेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ५ सुव्वाचोक निवासी ४८ वर्षीय कबिरमान थिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक तामाङ केही महिनाअघि मात्र भारतीय सैनिकबाट सेवानिवृत्त भएर घर फर्किएका थिए ।

आइतबार बिहान ५ बजेको समयमा छतबाट झरेर घाइते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याएको थियो । उनको उपचारका क्रममा बिहान ५ः४५ बजे मृत्यु भएको प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरिएको शवलाई मृतकका छोरा विवेक तामाङले बुझी लगेको डीएसपी रिजालले बताए ।

मृतकका पिता भीमबहादुर थिङ तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको थियो । करिब १० वर्षअघि सो घर एकतले हुँदा तामाङका पिता भीमबहादुरको पनि घरको छतबाट झरेर मृत्यु भएको नेपाल तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष विजय तामाङले बताए । अध्यक्ष तामाङका अनुसार कबिरमान पश्चिमपट्टि झरेका थिए भने उनका पिता पूर्वपट्टि झरेका थिए ।

 

तपाईको प्रतिक्रिया