काठमाडौं, ३० भदौ २०८० । आउँदो असोज १६ गतेदेखि हेटौंडामा राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको दोस्रो संस्करणको राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगितामा देशभरका १८ देखि २० वटा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरका ४० वर्षमाथी उमेर समूहका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको बिजेतालाई दुई लाख एक हजार र उपविजेतालाई एकलाख एक हजार नगद पुरस्कारसहित रनिङ शिल्ड प्रदान गरिने छ । यस्तै प्रतियोगितका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने छ ।
हेटौँडा–७ मा रहेको नवज्योति माविको खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १६ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । यसअघि आयोजना गरिएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले जितेको थियो ।