Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

बुधबार, २७ भदौ । गत शैक्षिक बर्ष २०७९ मा गौरादह नगरपालिकाको ‘स्थानीय पाठ्यक्रम’ प्रकाशन भयो । सो पाठ्यक्रम पढाएर गत बर्ष आधारभूत तह (कक्षा १–८) को स्थानीय विषयका परीक्षा समेत भए ।

एक बर्ष अगाडिबाट कार्यन्वयनमा आएको स्थानीय पाठ्यक्रममा कुनै प्रकारका पनि त्रुटी, समस्या तथा बिबाद आएनन् । सोही पाठ्यक्रममा आधारित भएर चालु शैक्षिक बर्ष २०८० मा प्रकाशन भएका कक्षा ४,५ र ६ का पाठ्यपुस्तकमा भने विभिन्न त्रुटीहरु फेलापरे ।

पाठ्यक्रम र पाठ्यपुस्तकमा धेरै भिन्नता हुन्छ । पाठ्यक्रममा विषय क्षेत्र, विषयका सक्षमताहरु, कक्षागत सिकाइ उपलब्धि, कक्षागत क्षेत्र र क्रम, विषयवस्तुको विस्तृतीकरण, मूल्यांकन जस्ता पक्षहरु समेटिएको हुन्छ । सामान्यतया पाठ्यपुस्तक लेख्नुभन्दा पहिला पाठ्यक्रम तयार गरिन्छ । पाठ्यक्रम निर्माण गर्न पाठ्यपुस्तक लेखनकार्य भन्दा जटिल हुन्छ ।

समयमै प्रभावकारी ‘स्थानीय पाठ्यक्रम २०७९’ तयार गर्न सफल भएको गौरादह न.पा.ले भर्खरै ‘हाम्रो गौरादह’ पाठ्यपुस्तक प्रकाशन गर्दा भने के कसरी त्रुटी हुनगयो ? चासो र चिन्ता चुलिएको छ ।

सरोकारवालाहरुको ध्यानाकर्षण रचनात्मक :
स्थानीय विषयको पाठ्यपुस्तक ‘हाम्रो गौरादह’ प्रकाशनले हिँजोआज सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ । नगरका सक्रिय राजनीतिक दलमा, चोकबजारमा तथा सामाजिक संजाल मार्फत समेत यसको गहिरो बहस र अन्तरक्रिया भइरहेको देखिन्छ । सरोकारवाला सबैको यसप्रकारको समालोचनात्मक चासो र चिन्तनले भोलिका दिनमा गौरादहको शैक्षिक विकासको क्षितिज उज्वल छ भन्ने संकेत गर्दछ ।

पाठ्यपुस्तक प्रकाशनले उत्पन्न सार्वजनिक बहसमा मौन बस्नुले समस्या समाधानमा सहयोग पुर्याउदैन । गौरादहका सरोकारवाला धेरैजसोले आफ्नो धारणा र दृष्टिकोण पेश गरिरहेको बेला म पनि यो लेख मार्फत आफ्नो धारणा र जवाफदेहिता पस्कन चाहन्छु । पाठ्यक्रम लेखन र पाठ्यपुस्तक लेखन अलग-अलग पाटा हुन् । पहिला पाठ्यक्रम लेखनको र त्यसपछि मात्र पाठ्यपुस्तक लेखन तर्फको समिक्षा गरौँ ।

गौरादहको ‘स्थानीय पाठ्यक्रम’ २०७९ लेखन सम्बन्धमा :
गत बर्ष पाठ्यक्रम निर्माण गर्ने क्रममा नगरपालिकाको शिक्षा शाखाले मलाई ‘स्थानीय पाठ्यक्रम विकास कार्यदल’ को सदस्यको भूमिकामा मनोनयन गरेछ । ‘पाठ्यक्रम तथा मूल्याँकन’ विषय र ‘ग्रामिण विकास’ विषयको स्नातकोत्तर साथै सामाजिक विषय शिक्षक समेत भएको नाताले पाठ्यक्रम निर्माणमा मेरो रुची पनि थियो ।

गौरादह नगरपालिकाको ‘स्थानीय पाठ्यक्रम’ के कस्तो बनाउने भनेर हाम्रो कार्यदलले धेरै नै मेहनत गरेको स्मरण गर्दछु । उक्त कार्यदल तत्कालिन नगर शिक्षा अधिकारी टेकनाथ रेग्मीको संयोजकत्वमा बनेको थियो । सदस्यहरुमा क्रमशः गोपालप्रसाद काफ्ले, डिल्लिराम अधिकारी, रत्नबहादुर कट्वाल, पूजा पोखरेल, डण्डिराज घिमिरे, लिलानाथ गौतम, शिवनारायण माक्रा, ध्रुव गौतम र सदस्य सचिवमा शिक्षा अधिकृत विदुर आचार्य रहनुभएको थियो । त्यसैगरी प्राविधिक तथा विज्ञहरुमा शिक्षा क्षेत्रमा लामो तथा विशेष योगदान गरिसक्नुभएका हाल विराटनगर निवासी अशोककुमार कालाखेती, गणेशप्रसाद अधिकारी, तुलसीनारायण अधिकारी र बोलराज खनाल रहनु भएको थियो ।

हाम्रो कार्यदलले तयार गरेको पाठ्यक्रमको मस्यौदा माथि पटकपटक छलफल, अन्तरक्रिया तथा कार्यशाला नै चलाएर विज्ञहरुको विशेष प्राविधिक भूमिकामा पाठ्यक्रमले अन्तिमरुप पायो । मस्यौदालाई विज्ञहरुले आवस्यक अध्ययन गरे पश्चात लेखन कार्यदलमा ल्याएर कार्यपालिका सदस्य तथा सरोकारवालाहरु समेतको फराकिलो भेलामा पाठ्यक्रम सम्बन्धि धेरै छलफलहरु पनि भएका थिए । मैले उक्त पाठ्यक्रममा एकाई आठको ‘जीवनोपयोगी सिपमा आधारित शिक्षा’ को मस्यौदा तयार गरेको थिँए ।

गौरादह नगरपालिकाको ‘स्थानीय पाठ्यक्रम २०७९’ मा कक्षा १–३ मा ९ वटा र कक्षा ४–८ मा ८ विषय क्षेत्रहरु रहेका छन् । गौरादह परिचय, स्रोतसम्पदा र व्याक्तित्व, सङ्घ संस्था, परम्परागत ज्ञान,सिप र प्रविधि, स्थानीय पेसा, व्यवसाय र जीविकोपार्जन, स्वास्थ्य र जीवन, सुरक्षा सचेतना, जीवनोपयोगी सिपमा आधारित शिक्षा र विपद् व्यवस्थापन जस्ता विषय क्षेत्रहरु गौरादहको स्थानीय पाठ्यक्रममा समेटिएका छन् ।

स्थानीय पाठ्यपुस्तक ‘हाम्रो गौरादह’ लेखन सम्बन्धमा :
पाठ्यक्रममा आधारित भएर पाठ्यपुस्तक तथा पाठ्यसामग्री अथवा सन्दर्भसामग्री लेखिन्छ । स्थानीय पाठ्यक्रम कार्यन्वयनमा आएपछि स्थानीय पाठ्यपुस्तक पनि सकेसम्म छिटो तयार गर्नुपर्छ भनेर शिक्षा शाखाले विशेष पहल लियो ।

पाठ्यक्रमले निर्धारण गरेका ९ वटा विषय क्षेत्रलाई समेटेर पाठ्यपुस्तकको मस्यौदा तयार गर्न गत बर्ष नै सबै एकाइका एकाइगत संयोजकहरु तोकियो । म एकाइ आठ ‘जीवनोपयोगी सिपमा आधारित शिक्षा’ को संयोजक चयन भएँ । पाठ्यक्रममा त्यस एकाइको मस्यौदा मैले तयार गरेको हुँदा पाठ्यपुस्तकमा उक्त एकाइका पाठ्यसामग्री लेख्न संयोजन गर्ने जिम्मेवारी भेलाले मलाई दिइएको होला ।

‘जीवनोपयोगी सिपमा आधारित शिक्षा’ एकाइ अन्तरगतका कक्षा १–८का पाठ्यसामग्री मस्यौदा म डण्डिराज घिमिरे, दिपक पौडेल, धर्म न्यौपाने, भोजप्रसाद आचार्य र जीवन पूरी सहितको समूह कार्यबाट सम्पन्न भयो । हाम्रो समुहले आफ्नो जिम्मेवारीको प्ररम्भिक मस्यौदा तयार गरेर शिक्षा शाखाको जिमेलमा पठायौँ । त्यसैगरी सबै एकाइगत पाठ्यसामग्रीका मस्यौदा शिक्षा शाखामा जम्मा भए । शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी अनिवार्य अवकास हुने केही दिन अघि शिक्षा शाखाले पाठ्यपुस्तक मस्यौदाको पाण्डुलिपि कार्यपालिकालाई पेश गर्यो ।

पुस्तक सम्पादनको बारेमा :
शिक्षा शाखाबाट पाठ्यपुस्तकको मस्यौदालाई सम्पादन गर्ने सम्पादक मण्डल गठन भयो । सूचना प्राप्तहुन नसकेको कारण सम्पादक मण्डल गठन भएको सो बैठकमा म उपस्थित थिइन । त्यसपछि पुस्तक लेखनको थप काम सो सम्पादक मण्डलले अगाडि बढायो ।

स्मरण गरौँ पाठ्यक्रमको मस्यौदा सम्पन्न भएपछि असोक कालाखेती सरहरुको विज्ञ समूहले मस्यौदाको सम्पादन सहित पटक-पटक पाठ्यक्रम विकास कार्यदलसंग सामुहिक छलफल राखेर पाठ्यक्रमले अन्तिम रुप पाएको थियो ।

‘हाम्रो गौरादह’ पाठ्यपुस्तकलाई अन्तिम रुप दिने सन्दर्भमा पनि विज्ञ असोक कालाखेती, गणेशप्रसाद अधिकारी, तुलसीनारायण अधिकारी र बोलराज खनाल सहितको समूहले काम गरेको छ भन्नेमा हामी विश्वस्त थियौँ ।

पाठ्यक्रममा झैँ पाठ्यपुस्तकमा पनि सबै एकाइका प्रत्येक पाठमा लेखकहरुका बीचमा बाह्य विज्ञहरु सहित सामूहिक छलफलको प्रक्रिया अपनाइने छ भन्ने थियो तर त्यसो हुन सकेन । ति सबै प्रक्रियाहरु नाघेर पुस्तक छापिएर आउँदा परिणामत पाठ्यपुस्तकमा त्रुटीहरु भए ।

पठ्यक्रम तयार गर्दा जस्तो लेखन कार्यदल भन्दा बाहिरबाट पुस्तक लेखनमा बाह्य विषय विज्ञको व्यवस्थापन थिएन भने पुस्तक लेखन कार्यदलले सामूहिक गृहकार्यबाट पुस्तकको अन्तिम रुप दिन नपाउनु दुखद हुनगयो ।

पुस्तक छपाइ सहितको जिम्मेवारी पाएको संस्थाले नै पाठ्यक्रममा झैं वाह्य विषय विज्ञहरुको जिम्मेवारी लिएको हो भन्नेमा हामी लेखन कार्यदलकाहरु विश्वस्त थियौँ । त्यस बारेमा के हो यथार्थ पुस्तक छपाइमा सम्झौता गर्ने पहिलो पक्ष नगरपालिकाले पक्कै स्पष्ट पार्ला ।

फोटा, जीवनी र व्याक्तित्व सम्बन्धमा :
लेखन समूह भित्रबाट गठित सम्पादक मण्डलले पनि पाठ्यपुस्तक लेखन कार्यदलसंग एकाइगत सामूहिक छलफल आवस्यक ठानेन । कुन एकाइमा के कस्ता साम्रगी प्रकाशन हुँदैछन् ? आफुहरुको समूहले मस्यौदा गरेका पठ्यसामग्री उपयुक्त भए भएनन् ? हामी लेखन कार्यदलले पनि पुस्तक प्रकाशन हुनु अघि छलफल अन्तरक्रियाको अवसर पाइनौँ ।

निश्चित मपदण्ड बनाएर कसकसको फोटो, जीवनी र व्याक्तित्व पुस्तकमा समावेश गर्ने भन्ने पुस्तक तयारीको प्रकृयागत छलफल र माइनोट पनि लेखन सम्पादन कार्यदल भित्र हुन नसक्नु अर्को कमजोरी हुनगयो ।

जीवनी व्याक्तित्वको सम्बन्धमा आवस्यक मापदण्ड तथा सर्वस्विकार्यता बारेमा लेखन कार्यदलले सुझाव राखेको भएतापनि निर्णायक बहस छलफलको अपर्याप्तता पनि समस्याको कारण हो ।

समस्याको समाधान :
भोगाइ, चुनौती तथा कमजोरीबाट सिक्दै निरन्तर अगाडि बढ्नु नै गतिशिलता र समाज विकासको नियम पनि हो । पाठ्यक्रम लेखन कार्य जस्तै सुस्म ढंगले सावधानीपूर्वक अबका पाठ्यपुस्तकमा मेहनत गर्नुपदर्छ । असल पाठ्यक्रम लचिलो हुन्छ । समयको माग र आवश्यकता अनुसार परिवर्तशिल हुनुपर्छ । पाठ्यक्रम परिवर्तशिल भएसंगै पाठ्यपुस्तक पनि परिवर्तनशिल हुन्छ नै । सबैका सुझावलाई ध्यानमा राखेर नगरवासीको मनोविज्ञान समेत बुझेर स्थानीय सरकारले पाठ्यपुस्तमा उठेका सवालहरुको यथासिघ्र सम्बोधन गर्नु उपयुक्त हुन्छ ।

स्थानीय पाठ्यपुस्तक ‘हाम्रो गौरादह’ सम्बन्धि बहसलाई व्यवस्थित र रचनात्मक बनाउन निम्न पक्षमा पनि अध्ययन गरौँ ।
के हो स्थानीय पाठ्यक्रम भनेको ?
स्थानीय स्तरमा सरोकारवालाहरुको सहभागितामा स्थानीय आवश्यकता अनुसार स्थानीय विषयवस्तुहरु समावेश गरी निर्माण र कार्यान्वयन हुने पाठ्यक्रम स्थानीय पाठ्यक्रम हो । अथवा स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । स्थानीय अवस्यकता, परम्परा, संस्कृति तथा जनजीविकाका अभ्यासहरुको संरक्षण र प्रवर्धन गर्ने जीवनोपयोगी, व्यवहारिक पक्षहरुलाई स्थानीय पाठ्यक्रमले समेटेको हुनुपर्छ ।

नेपालको संविधान २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधान प्रदत्त अधिकार कार्यन्वयन गर्ने क्रममा राष्ट्रिय पाठ्यक्रम प्ररुप, २०७६ ले हरेक स्थानीय तहलाई पाठ्यक्रम निर्माण गरी विद्यालयहरुमा कार्यान्वयन गर्न दिशानिर्देश गरेको छ । स्थानीय सरकारहरुलाई स्थानीय सन्दर्भ र आवस्यकताका आधारमा विषयवस्तुको छनौट गर्ने पूर्ण स्वायत्तता प्रदान भएको छ । सोहीअनुसार कक्षा १ देखि ८ सम्म लागु हुनेगरीको १०० पूर्णङ्कको स्थानीय विषयको पाठ्यक्रम पालिकाहरुले आफ्नो सापेक्षतामा नियमानुसार लागुगरेका छन् ।

पाठ्यक्रम भनेको के हो ?
पाठ्यक्रम भनेको विद्यार्थीलाई ज्ञान, सीप र व्यवहार सिकाउने उद्देश्य, विषय, विधि र मूल्याङ्कनका तरिका तोकेर तयार पारिएको व्यवस्थित योजना हो । अथवा बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभवको विस्तृत योजना नै पाठ्यक्रम हो ।

विद्यार्थीको रुचि, आवश्यकता र क्षमताअनुसार ज्ञान, सीप र व्यवहार सिकाइ शैक्षिक कार्यक्रमलाई व्यवस्थित र योजनाबद्ध ढङ्गले सञ्चालन गरी तोकिएका उद्देश्य पूरा गर्नका लागि बनाइएको विस्तृत योजना पनि पाठ्यक्रम हो ।

पाठ्यपुस्तक भनेको के हो ?
पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य तथा सक्षमताहरु विद्यार्थीमा हासिल गराउन सजिलो होस् भनेर पाठ्यपुस्तक तयार गरिन्छ । पाठ्यपुस्तक पाठ्यक्रमद्वारा निर्धारित लक्ष पूरा गर्न आवस्यक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि सहयोग गर्ने प्रमुख साधन पनि हो । पाठ्यक्रमको उद्देश्य, बिषयवस्तु, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कनलाई ध्यानमा राखेर पाठ्यपुतक निर्माण गरिन्छ । योजना गरिएको पाठ्यक्रमलाई वास्तविक कार्यथलोमा लैजाने र कार्यान्वयन गराउने सहयोगी सामग्री नै पाठ्यपुस्तक हो । पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक निर्माण हुने हुँदा पाठ्यपुस्तकको निर्भरता पाठ्यक्रममा नै हुन्छ ।

खासमा पाठ्यपुस्तक विद्यार्थीका लागि निर्माण गरिने भए तापनि शिक्षकले पनि यसलाई दैनिक शिक्षण सिकाइ क्रियाकलापमा निरन्तर रूपमा प्रयोग गर्ने गर्दछन् ।
कुनै शैक्षिक कार्यक्रममा पाठ्यक्रम बनेको तर पाठ्यपुस्तक नबनेको पनि हुनसक्छ । त्यस्तो अवस्थामा पाठ्यक्रममा दिइएका विषयवस्तुको सूचीका आधारमा शिक्षण कार्य गरिन्छ । विद्यार्थीले पनि यस्तो सूचीका आधारमा पढ्ने गर्दछन् । सुपरीवेक्षक र सरोकारवालाले पनि यस्तै सूचीलाई आधार मानेर सबै पढाइ भए नभएको हेर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया