Online Bichar
बिहिबार, फाल्गुण १०, २०८० | Thursday, February 22, 2024

एजेन्सी, २४ भदौ २०८० । उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतक संख्या पनि अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भूकम्पबाट हजारौं संरचनाहरु ध्वस्त भएका छन् । भग्नावशेषमा च्यापिएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । भुकम्पमा परी घाइते भएकाहरु मध्ये १४ सय जनाकोको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भूकम्पबाट माराकेश शहरका अधिकांश घरहरु ढल्नुका साथै दुर्गम पहाडी क्षेत्रका गाउँहरु मैदानमा परिणत भएका छन् । मोरोक्कोका राजा मोहमद छैठौंले पीडितहरुको खोजी तथा उद्धार र सहायताका लागि अपील गर्नुभएको छ । मृतकहरुको शोकमा राष्ट्रिय झण्डा तीन दिन झुकाइने भएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले उद्धार प्रयासमा सहयोग गर्ने घोषणा गरेको छ । साथै स्पेन, फ्रान्स, र इजरायल लगाएत अन्य देशहरुले पनि उद्धार टोली मोरोक्को पठाएका छन् । मोरोक्कोमा सन् १९६० मा ६ दशमलव ७ म्याग्नेच्युडको भुकम्प गएपछि पहिलो पटक यति ठूलो भूकम्प गएको हो ।

तपाईको प्रतिक्रिया