काठमाडौं, १९ भदौ २०८० । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलासा भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो ।
चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले बताएको छ । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।
यसैबीच सिआइबीले सुन तस्करी प्रकरणमा कनेक्सन देखिएकाले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई सीआईबी कार्यालयमा बोलाएर बयान लिइएको हो ।
बयानपछी आवश्यक परेको खण्डमा पुन बोलाउने गरी कागज गरि छोडिएको सिआइबीले जनाएको छ । पुनमाथि सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।