काठमाडौँ, १८ भदौ २०८० । एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालको १०० रन पूरा भएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेल्ले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २१.३ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो । १०० रन पूरा भएसँगै नेपालले कुशल मल्ललाई पनि गुमाएको छ । उनी २ रन बनाएर पेभेलियन फर्किए ।
नेपालका कप्तान रोहित पौडेल ५ रनमै आउट भए । पौडेल रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माको हातबाट क्याचआउट भएका हुन् । नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भए । त्यस्तै भीम सार्की पनि ७ रनमै जडेजाको बलमा बोल्ड भए । अहिले आसिफ शेख ४५ रन बनाएर क्रिजमा रहेका छन् । भारतका लागि जडेजाले ३ र शार्दुल ठाकुरले १ विकेट लिएका छन् ।
नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबार हुने खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । भारतसँग खेल्न पाउनु नै एउटा सपना जस्तो रहेको नेपाल यो स्थितिलाई लिएर निकै रोमाञ्चित छ । पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।
नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।